मोहन ढकाल/संगालोखबर


विराटनगर । देशभरबाट दशैँ मनाउनका लागि घर फर्किनेको संख्या बढिरहेको छ । यो क्रम अबको एकदुई दिनमा थप बढ्ने छ । विराटनगर बसपार्कमा भने विगतमा जस्तो यात्रुको चाप र चहलपहल नभएको पाइएको छ ।

विराटनगरबाट दैनिक लामो-छोटो दूरीका यात्रुबाहक सवारी पाँच सय हाराहारीमा चल्ने गरेका छन् । यो संख्या दशैँको समयमा केही थप भएको हो । विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष बिरु गुरुङका अनुसार गतवर्ष १५ दिन अगाडि देखिनै टिकट बुकिङ हुने गरेको थियो । तर यसपटक टिकट बुकिङ पनि नभएको उनको भनाइ छ ।

Advertisement

‘जुन तरिकाले यात्रुहरू आउनुपर्ने हो, भीडभाड हुनुपर्ने हो, त्यस्तो छैन’, उनले भने, ‘अब दुईतीन दिनपछि भीड हुनसक्ने अनुमान छ । तर यही अवस्था हेर्दा विगतको जस्तो हुन्छ जस्तो लाग्दैन ।’

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले पनि प्रभाव पारेको उनको अनुमान छ । ‘कतिपय काम छुट्टी भइनसकेकाले पनि रोकिएका होलान्’, उनले भने, ‘काठमाडौं जाने र आउने गाडी पनि बाटोको समस्याका कारण चल्न सकेका छैनन् । पूर्वतिर जाने गाडीहरू पनि खाली नै हुन्छन् ।’

उनका अनुसार विगतका वर्षहरूमा बसपार्कमा खुट्टा राख्ने ठाउँ पनि हुँदैन थियो । घटस्थापनादेखि भीडभाड बाक्लिन्थ्यो । उनले विगतमा जोगबनी किनमेल गर्न आउने यात्रुले पनि बस खचाखच हुनेगरेको सुनाउँदै यसपटक किनमेल गर्न आउनेको संख्यामा पनि कमी आएको बताए ।

उनले बसपार्कमा आपतविपतमा परेका यात्रुहरूलाई पनि सहयोग गर्ने गरेको बताउँदै चाडपर्वको मौकामा बढी भाडा असुल्ने जस्ता कार्य नभएको बताए । मोरङका ट्राफिक प्रमुख राजन लम्सालका अनुसार चाडपर्वका कारण सवारी साधनको चाप बढेको छ ।

‘लामो, लामो र मध्यमदूरीमा चल्ने सवारी-साधनको संख्या बढेको अवस्था छ’, लम्सालले भने, ‘चाडपर्व अगाडि करिब चार सय यात्रुबाहक सवारी-साधन दैनिक आवत-जावत गर्थे भने अहिले संख्या बढेर पाँच सय हाराहारी पुगेको छ । चाडपर्वका कारण रुटपरमिट खुल्ला भएपछि संख्या बढेको हो ।’

चाडपर्वको समयमा यात्रु नठगिउन भनेर यात्रु सहायता कक्ष पनि सञ्चालनमा ल्याइएको उनले बताए । उनले क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गर्दै अटेर गर्ने सवारी-साधनलाई कारबाही गरिने बताए ।

‘यो बेला भीडभाड बढी हुन्छ । सोही मौका छोपेर बढी भाडा असुल्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पनि पाइन्छ’, उनले भने, ‘यसले दुर्घटना निम्त्याउँछ । त्यसैले यात्रु सहायता कक्ष स्थापना गरेका हौँ । यात्रुलाई जहाँ समस्या पर्छ त्यहीँबाट पनि ट्राफिकको हटलाइन १०३, प्रहरीको १०० र अन्य माध्यममा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।’

यस्तै तोकिएको भन्दा बढी भाडा नलिन पनि उनको आग्रह छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएको भन्दा बढी भाडा असुली गरेमा नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई जानकारी गराउन उनले आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!