
विराटनगर । राजनीति छाडेर समाज सेवामा सक्रिय विराटनगरका पारुल क्षेत्री अहिले जेनजी आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गराउने अभियानमा जुटेका छन् । उनले अभियान नै सञ्चालन गरेर विराटनगरका विभिन्न स्थानमा पुगेर आन्दोलनका क्रममा लुटिएका सामान फिर्ता गर्न आग्रह गरिरहेका छन् ।
उक्त अभियानमा उनलाई साथ दिनेको संख्या धेरै छ । हरियाली अभियन्ता समेत रहेका क्षेत्रीको समूहमा अन्य व्यक्तिहरू पनि सक्रिय छन् । विराटनगरका विभिन्न स्थानमा बिरुवा रोपेर हुर्काउने अभियानमा जुटेको समूह आन्दोलनपछि ध्वस्त भएका संरचना सरसफाइसँगै लुटिएका सामान फिर्ता गराउन सक्रिय छ ।
‘हामी विराटनगरका विभिन्न स्थानमा पुगेर लुटिएको सामान फिर्ता गर्न आह्वान गरिरहेका छौँ’, क्षेत्रीले भने, ‘केही ठाउँबाट आफैँ गएर सामान फिर्ता गराउन सफल भएका छौँ । अहिले धेरैले फोन गरेर सामान फिर्ता गर्न पनि थाल्नुभएको छ ।’
उनले ग्यास सिलिन्डर, साबुन, सरफ, मसला लगायतका विभिन्न सामान फिर्ता गराउने क्रम जारी रहेको बताए । ‘हामीलाई प्राप्त भएको सामान भाटभटेनीमा फिर्ता गराउँदै छौं’, सोमबार दिउँसो संगालोखबरसँग क्षेत्रीले भने, ‘अहिलेसम्म १४ थान ग्यास सिलिन्डर हामीलाई प्राप्त भएको छ । यस्तै साबुन, सरफ, डाइपर, मसला लगायतका सामान आएका छन् ।’
अभियानले सकारात्मक प्रभाव परेको उनले बताए । ‘सबैलाई चोर बनाउन पनि भएन’, उनले थपे, ‘उनीहरूलाई सचेत हुने अवसर पनि हो । त्यसैले सबैले लगेको सामान फिर्ता गरिदिन आग्रह पनि गर्छु ।’
उनले भाटभटेनीसँगै अन्य सरकारी कार्यालयका लुटिएका सामानहरू फिर्ता आउन थालेका जानकारी दिए । उनले आइतबार तीन वटा ल्यापटप महानगरपालिकामा बुझाएको बताए । ‘केही भाइहरूले हामीलाई ल्यापटप उपलब्ध गराएका थिए’, उनले भने, ‘हामीले नगरपालिकामा बुझाएका छौँ ।’
उनले सामान फिर्ता गराउने अभियानसँगै आगजनी भएका स्थानको सरसफाइमा पनि आफूहरू जुटीरहेको बताए । शनिबारबाट क्षेत्रीसहितको समूह चोरी भएका सामान फिर्ता गराउने अभियानमा सक्रिय भएर लागेको छ ।

मोहन ढकाल/संगालोखबर 













