
विराटनगर । सुनसरीको धरानस्थित भाटभटेनी सुपरमार्केटमा जलेर चार जना खरानी भएका छन् । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते आगजनी र लुटपाटमा भित्र पसेका चार जना जलेर खरानी भएको अनुमान गरिएको छ ।
‘दोस्रो तलामा एक जना र चौथो तलामा तीन जना जलेर खरानी भएको अवस्थामा भेटिएको छ’, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले संगालोखबरसँग भने, ‘जलेर खरानी भएको अवस्थामा केही अंगमात्रै फेला परेको छ ।’
उनीहरूको पहिचान खुल्न बाँकी छ । आन्दोलनका क्रममा सटर फोडेर पेट्रोल खन्याएर आगो लगाउँदा भित्र रहेका उनीहरू जलेका थिए । घटनास्थलको मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













