मोहन ढकाल/संगालोखबर


विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका एक शिक्षकलाई फेसबुकमा स्टाटस लेखेको भन्दै सरुवाको कारबाही गरिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका छन् ।

शुक्रबार फेसबुकमा स्टाटस लेखेका शिक्षक बालकृष्ण बोहोरालाई आइतबार विद्यालयमा हाजिर गर्न नदिएर काजमा अन्यत्र सरुवा गरिएको भनिएपछि विद्यार्थी र अभिभावक आक्रोशित भएका हुन् ।

Advertisement

शिक्षक बोहोरा आइतबार नियमित जाहिर गर्न विद्यालय गएका थिए । तर विद्यालयका प्रधानाध्यापक बालकृष्ण अधिकारीले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको मिति २०८२ भदौ २ गतेको पत्रअनुसार सूर्यकुण्ड माध्यमिक विद्यालय बराहक्षेत्र-१ मा काजमा खटाइएको भन्दै हाजिर गर्न नदिएको शिक्षक बोहोराले बताए ।

‘शुक्रबार स्टाटस लेखेको थिए । शनिबार बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले इलाका प्रहरी कार्यालयमा बोलाएर दुर्व्यबहार समेत गर्नुभयो’, शिक्षक बोहोराले संगालोखबरसँग भने, ‘आइतबार त काजमा सरुवा गरिएको भन्दै हाजिर गर्न पनि रोक लगाइयो ।’ सोही दिन उनलाई स्टाटस समेत डिलिट गर्न लगाइएको थियो ।

बेहोराले फेसबुकमा ‘२-३ वटी श्रीमती बिहे गरेका मेयर र वडाअध्यक्षहरूले कार्यक्रमपिच्छे पालैपालो श्रीमतीहरूलाई लगेर कार्यक्रममा प्रत्येकलाई प्रथम महिला भन्दै सम्बोधन गरेको सुन्छु । खासमा प्रथम महिला भनेको को हो ?’ भन्दै लेखेका थिए ।

सोही आधारमा आफूलाई कुनै जानकारी बिनै काज सरुवा गरिएको भन्दै हाजिर गर्न नदिँदा आफू पीडित भएको बोहोराले बताए । उनले आफूले यस विषयमा प्रधानाध्यापकसँग बुझ्दा विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिले कारबाही स्वरुप काज सरुवा गरेको भन्ने जवाफ पाएको बताए । उनले उक्त विषयमा आफूसँग कुनै स्पष्टिकरण समेत नसोधिएको उल्लेख गरे ।

‘यसबाट मेरो सूचनाको हक तथा पेशागत हक समेत कुण्ठित भएको महसुस गरेको छु’, शिक्षक बोहोराले भने, ‘विद्यालयमा नियमित इमानदारी साथ काम गरिरहेको अवस्थामा कुनै गल्ती बिना आफूलाई पीडित बनाइएको छ । मैले नियमित हाजिर गरी काम गर्ने वातावरण मिल्नुपर्छ ।’

उनले आफूले लेखेको स्टाटस कसैलाई चित्त नबुझ्दा कानुनी बाटो रोज्न सक्ने अवस्थामा विद्यालयमा हाजिर गर्न रोक लगाएर काज सरुवा गरिनु उचित नभएको बताए । यस विषयमा नेपाल शिक्षक महासंघ बराहक्षेत्र नगरकार्य समिति र नेपाल राष्ट्रिय शिक्षक संगठनले विज्ञप्ति जारी गर्दै शिक्षक बोहोरालाई सोही विद्यालयमा हाजिर गर्ने वातावरण मिलाउन माग गरेका छन् ।

शिक्षक बोहोरालाई हाजिर गर्न नदिएपछि सोमबार विद्यार्थी र अभिभावकले बराहक्षेत्र नगरपालिका गेट अगाडि नाराबाजी गर्दै तत्कालै हाजिर गर्ने वातावरण मिलाउन आग्रह गरेका छन् । विद्यार्थीहरूले बोहोरा सरलाई जबरजस्ती निकाल्न खोजेको बताए ।

नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले पारिवारिक विषयमा प्रवेश गरेर स्टाटस लेखेका कारण काज सरुवा गरिएको बताए । ‘विकास निर्माणका विषयमा लेखेको भएपनि ठिकै हुन्थ्यो’, नगर प्रमुख कार्कीले संगालोखबरसँग भने, ‘कसैको पारिवारिक विषयमा लेख्नु कत्तिको उचित हुन्छ । उहाँलाई काज सरुवा गरिएको हो ।’

उनले शिक्षक बोहोरासँग गत जेठ २१ गते सामाजिक सञ्जालमा जथाभावी नलेख्ने भन्ने विषयमा सहमति भएको उल्लेख गर्दै पुनः गल्ति दोहोर्याएपछि कारबाही स्वरुप सरुवा गरिएको उल्लेख गरे ।

‘यथार्थ भन्नुपर्दा मेरो दुई जना श्रीमती हुन् । एउटा कार्यक्रममा उद्घोषकले मेरो श्रीमतीलाई प्रथम महिला भनेर सम्बोधन गर्नुभएछ’, मेयर कार्कीले भने, ‘मैले भनेको पनि हैन । उहाँले सम्बोधन गरेर स्टेजमा बोलाउनु भएछ । त्यसैलाई इंकित गरेर बोहोरा सरले स्टाटस लेख्नुभएछ ।’

उनलाई स्टाटस लेखेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बोलाएर सो विषयमा सोधेको नगर प्रमुख कार्कीले बताए । ‘उहाँले आफैँले सामाजिक सञ्जालमा लेख्दिन भनेको कुरा कार्यान्वयन नगरेपछि यो अवस्था आएको हो’, नगरप्रमुख कार्कीले भने ।

विद्यालय व्यवस्थापन समितिबाट दुई पटक सरुवा गर्नुपर्छ भनेर जानकारी आउँदा पनि आफूले नमानेको उल्लेख गर्दै कार्कीले भने व्यक्तिगत घरभित्र छिरेपछि काज सरुवा गरिएको हो । नगर प्रमुख कार्कीले विद्यार्थी र अभिभावकहरूलाई पनि कसैले उचालेर आन्दोलन गर्न उक्साएको आरोप लगाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!