
विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटक ५८ औं संस्करणको रथयात्रा भदौ १ गते निकालिँदैछ ।
विराटनगर-१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ः३० बजे निकालिने रथयात्राले ट्राफिक चोक, रोडशेष, बरगाछी हुँदै मन्दिरसम्म आइपुग्दा ९ किलोमिटरको दुरी पार गर्नेछ ।
विस १९८८ सालबाट खटयात्रा सुरु गरिएको भएपनि विस २०२४ साथबाट रथयात्रा सुरु भएको हो । यसपटक खटयात्राको ९४ औं र रथको ५८ औं संस्करण पूरा हुनेछ ।
यसपटक नयाँ रथ निमार्ण भएको र त्यसको आकार पनि ठूलो छ । रथयात्राको मिति नजिकिएसँगै यसको तयारीका विषयमा केन्द्रित रहेर संगालोखबरका सह-सम्पादक मोहन ढकालले रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीसँग गरेको कुराकानीको सम्पादित अंश–
१. रथयात्राको तयारी कस्तो हुँदैछ ? रथ निर्माणको काम कति बाँकी छ ?
रथयात्राको तयारी लगभग सकिएको छ । रथको काम पनि अन्तिम चरणमा पुगेको छ । अब आज देखि डेकोरेसन सुरु भएको छ । सफा गर्ने काम भइरहेको छ । सामान्य बिजुलीको काम बाँकी छ । भोलि बेलुका सम्ममा सबै फाइनल हुन्छ । सामान्य काम मात्रै बाँकी रहन्छ ।
२. विगतका वर्षहरूमा भन्दा यसवर्ष भक्तजनहरूले के फरक पाउनेछन् ?
यसपटक नयाँ रथ बनेको छ । पुरानो रथ जुन ५७ वर्षदेखि चलिरहेको थियो, त्यो भन्दा यसपटकको रथ आकर्षक र ठूलो छ । रथ आकर्षक हुनु नै अहिलेको लागि नयाँ हो । रथ प्यागोडा शैलीमै बनेको छ । रथ अत्याधुनिक बनेको छ । हाइड्रोलिक ब्रेक जडान गरेका छौं । नयाँ रथको लम्बाइ १९ फिट, चौडाइ १४ फुट र उचाइ २१ फिट ३ इन्च छ भने पुरानो रथको लम्बाइ १६ फिट, चौडाइ १२ फिट र उचाइ १८ फिट थियो ।
३. रथको रुट कसरी निर्धारण गरिएको छ ? कति किलोमिटर परिक्रमा हुन्छ ?
समय र आवश्यकता अनुसार हामीले रुट निर्धारण गरेका छौं । यसपटक ४४ स्थानमा रथलाई विश्राम गर्ने तय भएको छ । मन्दिर परिसरबाट शुभारम्भ हुने रथ ट्राफिक चोक, रोडशेष हुँदै बरगाछीबाट पुनः मन्दिरतर्फ पुगेर समापन हुन्छ । ९ किलोमिटरको दूरी पार गर्न करिब ५/६ घण्टा लाग्ने अनुमान छ । रथ ठूलो भएको कारणले पनि त्यो भन्दा केही बढी समय लाग्न सक्छ । यसपटक भीडभाड पनि बढ्न सक्ने हाम्रो अनुमान छ, त्यसले गर्दा पनि दूरी पार गर्न केही ढिला हुनसक्छ भन्ने अनुमान हो ।
४. यसपटकको रथ ठूलो छ । सडकमा अवरोध नहुनका लागि कसरी व्यवस्थापन गर्नुभएको छ ?
खानेपानीले तोडफोड गरेको सडक अस्थायी रूपमा व्यवस्थित गर्ने काम भएको छ । केबुलका तारहरूलाई पनि व्यवस्थित गर्ने काम भएको छ । रथलाई अवरोध गर्ने चिजहरूलाई हटाउने काम भएको छ ।
५. झाँकीहरू कसरी व्यवस्थापन गर्नुहुन्छ ?
हामीसित पहिला ६१ वटा झाँकी थियो । अहिले (शुक्रबार १२ बजे) सम्म ८५ वटा दर्ता भइसकेको अवस्था छ । यसपटक लगभग एक सय वटा झाँकी पुग्नसक्ने अनुमान गरेका छौं । कति भक्तजनले जानकारी नगराई पनि ल्याउने चलन छ । झाँकीसहित सबैकुरा व्यवस्थित गर्छौं ।
६. मन्दिरबाट कतिबजे रथ निकालिन्छ र निर्धारण गरिएको क्षेत्र परिक्रमा गर्न कति समय लाग्ला ?
रथलाई मन्दिरबाट बाहिर दिउँसो १ बजे निकाल्छौं । बाहिर निकालेपछि पूजा गर्ने चलन छ । करिब ४५ मिनेट पूजा गर्न लाग्छ । पुजा सकेपछि ३ः३० बजे निमन्त्रण गरिएका केही व्यक्तिलाई दर्शन गराएपछि रथयात्रा सुरु हुन्छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले संयुक्त रूपमा रथको शुभारम्भ गर्ने तया भएको छ ।
७. यसवर्ष कहाँ-कहाँबाट कति भक्तजन आउने अनुमान गर्नुभएको छ ?
नेपालको त विभिन्न क्षेत्रबाट आउनुहुन्छ । त्यसबाहेक छिमेकी राष्ट्र भारतबाट पनि भक्तजनहरू आउनुहुन्छ । यसपटक विगतका वर्षहरूमा भन्दा भक्तजनको संख्या बढ्ने अनुमान छ । ४-५ लाख भक्तजन त पहिला पनि आउनुहुन्थ्यो । यसपटक त्यो भन्दा बढी आउनुहुन्छ भन्ने हाम्रो अनुमान हो । नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गर्ने तयारी पनि छ । भक्तजनहरूलाई सुरक्षित रूपमा दर्शन गरिदिनुहुन अनुरोध गर्दछु । बालबच्चा र गरगहनाको पनि ख्याल गर्नुहोस् । बहुमूल्य गरगहना भीडमा नलगाउनु हुन पनि अनुरोध गर्दछु ।

मोहन ढकाल/संगालोखबर 













