
भोजपुर । भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शव ‘फरेन्सिक’ परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
भोजपुर जिल्ला अस्पतालमा ‘फरेन्सिक’ जाँच गर्ने उपकरण नभएपछि आज धरान पठाइएको हो । भोजपुर नगरपालिका-२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीय श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरीको हत्या गरेका थिए ।
राजेन्द्र पनि घाइते छन् । उनको पनि घोपामा नै उपचार भइरहेको प्रहरीले जनाएको छ । गिरी दम्पतीका ४ छोरा र २ छोरी थिए । ३ छोरा र १ छोरी काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ । घरमा १ छोरी र १ छोरासहित गिरी दम्पती बस्दै आएका थिए ।
प्रहरीका अनुसार गिरी दम्पतीले छोरीलाई फिर्ता नपठाएको र माइतीमै राखेको विषयमा विवाद भएपछि राजेन्द्रले छुरा प्रहार गरेर सबैको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाका सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका निमित्त प्रमुख इन्स्पेक्टर दीपक श्रेष्ठले जानकारी दिए ।

संगालोखबर 













