संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका आदिवासी जनजातिहरूको भाषा, संस्कृति, संस्कार र परम्परालाई संरक्षण र विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । ३०औं विश्व आदिवासी दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजातिको पहिचानलाई थप परिस्कृत बनाउन लागिपरेको समेत बताए ।

यस अवसरमा स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदायसहित सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्दै कार्कीले भनेका छन्, ‘प्रथम सहिद लखन थापादेखि अहिलेसम्म भएका परिवर्तनका आन्दोलनमा आदिवासी जनजातिको योगदान स्मरणीय छ ।’

Advertisement

दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन र सुदृढीकरण तथा अधिकार प्राप्तिको अभियानमा निरन्तर सफलता मिल्ने विश्वास लिएको मुख्यमन्त्री कार्कीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । कोशी प्रदेश आदिवासी जनजातिहरूको ठूलो जनसंख्या भएको प्रदेश भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले  आदिवासी जनजातिहरूको विभिन्न भाषा, संस्कृति, परम्परा र संस्कारले कोशी प्रदेशलाई समृद्ध बनाएको बताए ।

खुवालुङदेखि माङ्सेबुङ लगायतका पवित्र स्थलहरू प्रदेशका अमूल्य सम्पत्ति रहेकाले यस्ता धार्मिक धरोहरहरूको संरक्षण र संग्रहालय मार्फत समुदायहरूको पहिचानलाई वर्षौंसम्म चिरस्थायी बनाउन प्रदेश सरकारले काम गरिरहेको सन्देशमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले सन् १९९४ को अगष्ट ९ बाट विश्व आदिवासी दिवस मनाउन सुरु गरेको हो । दिवसलाई आदिवासी तथा जनजातिहरूले अधिकार स्थापित गर्ने दिनका रूपमा मनाउँदै आएका छन् ।

यस अवसरमा कोशी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आदिवासी दिवस अवसरमा बिदा दिने निर्णय गरेको हो ।

कोशी प्रदेशमा शुक्रबार सार्वजनिक बिदा

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!