- रबिन कटेल/संगालोखबर

विराटनगर । आसन्न स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई निर्वाचन आयोगले ‘अन द स्पोट’ कारबाही गर्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका घटना न्यूनीकरणका लागि आयोगले यो पटक कडा कदम चाल्ने तयारी गरेको हो । आचारसंहितालाई कागजी दस्तावेजको रुपमा मात्र नभई निर्वाचन निष्पक्ष र धादलीरहित बनाउँने दह्रो हतियारका रुपमा प्रयोग गरिने आयोगका पदाधिकारीहरु बताउँछन् । आचारसंहितालाई कडाईका साथ लागू गरेर निर्वाचनमा ‘मनी र मसल’ को प्रभाव पर्न नदिइने प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको भनाई छ ।

Advertisement

निर्वाचन आचारसंहिता कार्यान्वयन सम्बन्धि १ नम्बर प्रदेश स्तरीय कार्यक्रमका लागि बुधबार विराटनगर आएका प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने चेतावनी दिए । निर्वाचन आयोग र नेपाल कानून समाजले गरेको निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका सम्बन्धि अन्तरक्रियामा बोल्दै थपलियाले आचारसंहिता उल्लंघन गरेर अघि बढ्छु भन्ने नसोच्न सरोकारवालाहरुलाई सचेत गराए । ‘निर्वाचन आचारसंहिता कागजी दस्तावेज मात्र हैन, यो निर्वाचन स्वतन्त्र र धादलीरहित बनाउँने दह्रो हतियार हो,’ थपलियाले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई अन द स्पोट कारबाही गरिन्छ, निर्वाचन आयोगको आँखा छलेर आचारसंहिता उल्लंघन गरेर चुनाव जित्छु भन्ने नसोच्दा पनि हुन्छ ।’

अघिल्ला निर्वाचनहरुमा आचारसंहिता कार्यान्वयन पक्ष फितलो भएको जनगुनासो आउँने गरेको थियो । आचारसंहिता बनेपनि उल्लंघन गर्नेलाई कारबाही गर्ने प्रकृया झञ्जटिलो र फितलो भएको गुनासो आएपछि आयोगले आगामी बैशाख ३० गते गर्न लागेको स्थानीय तह निर्वाचनमा भने कडाई गर्ने तयारी गरेको हो । निर्वाचनका लागि केही दिन अघि आयोगले सार्वजनिक गरेको आचारसंहितामा नियम उल्लंघन गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्न सक्ने प्रावधान समेटिएको छ ।

सोही प्रावधानलाई टेकेर आयोगले आचारसंहिता कार्यान्वयनमा कडाई गर्ने तयारी गरेको हो । ‘पहिले आँखै अगाडि आचारसंहिता उल्लंघन हुँदा पनि आयोगले उजुरी पर्खेर बसेको गुनासो आए, तर अब कसैले उजुर दिनुपर्दैन, गलत ढंगले गाडीको प्रयोग भइरहेको देख्नुभयो भने समातेर स्थानीय प्रशासनमा बुझाइदिनुहोस्, गलत ठाउँमा गलत तरिकाले पोष्टर पम्प्लेट टाँसेको देख्नुभयो भने हामीलाई खबर गर्नुहोस् हामी तत्काल कारबाही गर्छौ,’ प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्, ‘यो पटक हामी आचारसंहितालाई कडाईका साथ कार्यान्वयन गछौं, यसका लागि सबै मतदाताको सहयोग चाहिन्छ, कतै उल्लंघन भएको देख्नुभयो भने हामीलाई खबर गरेर सहयोग गर्नुहोस् ।’

आफ्नो नामको पेस्की र बेरुजु फर्छौट नगरी उम्मेद्वार बन्न नमिल्ने प्रावधान पनि आचारसंहितामा समेटिएको छ । यसका लागि उम्मेद्वारले फर्छौैटको स्वघोषणा गर्नुपर्छ । कागजी प्रकृयामा मात्र फर्छौट गरेको देखाएर आयोगको आँखा छलेको थाहा भएमा चुनाव जितेपछि पनि उसको पद खारेज गरिने आयुक्त थपलियाले चेतावनी दिए । आचारसंहितालाई कडाईका साथ पालना गराउँने अभियानमा जुटेको आयोगले केही दिनभित्रै सातै प्रदेश र बिभिन्न जिल्लामा आचारसंहिता कार्यान्वयनका बिषयमा सरोकारवालाहरुसँग छलफल गर्दैछ ।

निर्वाचन खर्च नघटाए प्रजातन्त्र खतरामा पर्छ: पूर्व प्रधानन्यायाधीस श्रेष्ठ

कार्यक्रममा पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले आचारसंहिताको पालना नगर्नाले चुनाव बढी खर्चिलो हुँने गरेको बताए । उनले खर्चिलो चुनाव गर्ने परिपाटी रोक्न नसकेमा देशमा प्रजातन्त्र नै खतरामा पर्नसक्ने चुनौति औल्याए । ‘निर्वाचन आचारसंहिता उल्लंघन गरेर चुनाव बढी खर्चिलो गर्ने परिपार्टी बढीरहेको छ, यस्तो अवस्था रहिरहने हो भने देशले चुनाव धान्न सक्दैन,’ श्रेष्ठले भने, ‘चुनाव गर्नका लागि ऋण माग्नुपर्ने अवस्था आउँन सक्छ, यस्तो भने भने प्रजातन्त्र नै खतरामा पर्छ ।’ सबैले नैतिकवान भएर आचारसंहिता पालना गरी निष्पक्ष र धादलीरहित चुनाव गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा निर्वाचन आचारसंहिताका बिषयमा नेपाल सरकारका पूर्व सचिव वेगेन्द्रराज शर्मा पौडेल र निर्वाचन खर्च एवं प्रचारप्रशार तथा निर्वाचन आचारसंहिताको कार्यान्वयन र अनुगमनका बिषयमा पूर्व कानून सचिव माधव पौडेलले जानकारी गराएका छन् । कार्यक्रममा सहभागि राजनीतिक दलका नेता तथा सरोकारवालाहरुले निर्वाचन आचारसंहिताका बिषयमा छलफल गरी प्रभावकारी कार्यान्वयनका लागि आयोगलाई सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!