धनकुटा । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राई सवार गाडी धनकुटाको पाख्रीवास नगरपालिका-५ दियालेमा दुर्घटना भएको छ । भोजपुरबाट विराटनगर जाने क्रममा राज्यमन्त्री राई सवार प्रदेश नम्बर १-०४-००१ झ १००३२ नम्बरको स्कारपियो गाडी आज साँझ करिब ६ः३० बजे दुर्घटना भएको हो ।
गाडीको अगाडिको भाग सडकको नालीमा खसेको धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काले जानकारी दिए । ‘मन्त्रीज्यू सवार गाडीको अगाडिको भाग नालीमा खसेको छ,’ प्रहरी निरीक्षक खड्काले संगालोखबरसँग भने, ‘गाडी दुर्घटनामा परेपनि मान्छेलाई केही भएको छैन । मन्त्रीज्यूसहित सबैजना सकुशल हुनुहन्छ ।’
गाडीमा राज्यमन्त्री राईसहित चार जना सवार थिए । गाडी दुर्घटनामा परेपछि राज्यमन्त्रीको टोली अर्को गाडीमार्फत विराटनगरतर्फ जाँदैछन् ।
गाडीमा सवार आफूहरू सबैजना सकुशल रहेको र अर्को गाडीमा विराटनगर जाँदै गरेको राज्यमन्त्री राईले बताइन् । ‘गाडी एक्कासि नाली तिर पस्यो, ड्राइभरले गाडी अनकन्ट्रोल भएर यस्तो भयो भन्नुभयो,’ राज्यमन्त्री राईले संगालोखबरसँग भनिन्, ‘तर हामी सबै सुरक्षित छौ, केही भएको छैन । अहिले अर्को गाडीमा विराटनगर जाँदैछौ ।’
घटनाको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले दुर्घटनाग्रस्त गाडीलाई नालीबाट निकालेको छ ।