विराटनगर । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारप्रसारका गतिविधि गर्न पाउँदैनन् ।
मतदान भन्दा ४८ घन्टा अगाडि मौन अवधि सुरु हुन्छ । ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।
४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ । ओखलढुङ्गा र कैलालीमा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र टीकाकुमारी चौधरी निर्विरोध भएका छन् ।
त्यस्तै रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको एकल उम्मेदवारी छ । उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन्। यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता रहेका छन् ।