संगालोखबर


उर्लाबारी । मोरङको उर्लाबारी-९ मा रहेका अल्पसङ्ख्यक आठपहरिया समुदायले वाडाङमेट अर्थात् मंसिरे चाड मनाएका छन् । किरात आठपहरिया समाज मोरङ जिल्ला कार्यसमितिको आयोजनामा आफ्नो मुख्य पर्व वाडाङमेट मनाएका हुन् ।

हरेक वर्ष कार्तिक पूर्णिमादेखि १५ दिनसम्म यो पर्व मनाउने गरिन्छ । यस अवधिमा उनीहरू जन्म र मृत्युपछिको विभिन्न संस्कार सम्पन्न गर्छन् । उनीहरू वर्षभर मृत्यु भएका आफन्तको सम्झनामा सुनसरीको बराहक्षेत्रमा दुःख बगाउने गर्दछन् ।

Advertisement

जेठो सन्तान प्राप्तिको खुसियालीमा हर्षबढाइँ गर्दै खुसी साटासाट गर्ने र भोज खाने चलन पनि यो समुदायमा छ । उनीहरू मौलिक वाद्यवादनका साथै मुन्धुम गाउँदै मारुनी नाच्ने गर्दछन् । जसले पर्वलाई थप रौनकता प्रदान गर्ने गर्दछ ।

आदिवासी जनजातिमा सूचीकृत हुनबाट वञ्चित अल्पसङ्ख्यक आठपहरियाहरूले वर्षौँ अघिदेखि सूचीकृतको माग गर्दै आएका छन् । तर अहिलेसम्म पनि सुनुवाइ नभएको किरात आठपहरिया समाजका केन्द्रीय सदस्य गणेश आठपहरिया किम्दाङले बताए । यो आठपहरिया जातिको महत्वपूर्ण र मुख्य पर्व भएको उनले सुनाए ।

किरात आठपहरिया समाजका मोरङ जिल्ला अध्यक्ष हरि आठपहरियाले भने, ‘यो पर्वमा पितृ पूजासँगै वर्षभरि देहान्त भएका आफन्तको बरखी बारेकाहरू दुःखबाट चोखिने, नयाँ घर बनाएको छ भने चोख्याउने, पहिलो सन्तान छोरा जन्मिएको भए घरमा हर्षबढाइँ गर्ने चलन छ ।’

उर्लाबारी–९ स्थित महाराजस्थान इन्द्रेझोडामा विद्या चाम्लिङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष अष्ट  बहादुर छोङदेन आठपहरिया, महासचिव कोमल किम्दाङ आठपहरिया, वडाध्यक्ष नरबहादुर मोक्तान, सदस्य प्रकाश कन्दङ्वा, साबित्रा बिक, नेपाल आदिवासी जनजाति महासङ्घ उर्लाबारी अध्यक्ष शमशेर लिम्बू, किरात याक्थुङ चुम्लुङ उर्लाबारीका अध्यक्ष बानु सुब्बालगायतको उपस्थिति रहेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!