बिराटनगर । जल तथा मौसम विज्ञान बिभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । अहिले दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा लुम्बिनी प्रदेशका पुर्वी भू–भागहरु र प्रदेश न २ मा आंशिक बदली रहेको छ ।
बुधबार दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेशका पहाडी भू–भागहरू र सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागहरूमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । सुदुर पश्चिम प्रदेशको हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टामा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुका साथै तराई भू–भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाखाशाले आग्रह गरेको छ । महाशाखाले केही दिन यता वायुको तापक्रममा गिरावट आईरहेको जनाएको छ ।
बिहिबार दिउँसो प्रदेश नं १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली र प्रदेश न २ मा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । राती प्रदेश नं १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सफा रहनेछ ।
शुक्रबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । पश्चिमी र मध्य उच्च हिमाली भूभागमा हल्का हिमपात र प्रदेश १ को पहाडी भूभागका एक/दुई स्थानमा हल्का र फाटफुट बर्षाको सम्भावनासमेत छ । राती देशभर आंशिकदेखि सामान्य बदली रहि हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।