
सुनसरी । सुनसरीको तरहरास्थित सेउती खोला आसपासमा वृक्षरोपण गरिएको छ । इटहरी आसेज वाओ को आयोजनामा ४ सय बिरुवा रोपिएको हो ।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजक संस्थाका नवीन राना मगरले जानकारी दिए ।
‘आमाको मनद्वारा बिरुवा रोपिएको हो’, उनले भने, ‘पृथ्वीलाई ए देखि जेड सम्म बचाऔँ र हामी एक परिवार हौँ भन्ने नारासहित आसेजले वातावरणमैत्री अभियान सञ्चालन गर्दै आएको छ ।’

कार्यक्रममा इटहरी उपमहानगरपालिका-२० का वडाध्यक्ष मणिराम श्रेष्ठ र तरहरा सब-डिभिजन वन कार्यालयका अधिकृत विन्देश्वर साहको उपस्थिति थियो ।
सहभागीहरूले बिरुवा रोप्ने अभियानले वातावरण संरक्षण, जैविक विविधताको सम्वर्द्धन तथा तरहरा क्षेत्रको खाली ठाउँमा अझ हराभरा र आकर्षक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
आयोजक आसेजले आगामी दिनमा पनि वातावरण संरक्षणसँग सम्बन्धित यस्ता सामाजिक अभियानलाई निरन्तरता दिँदै समुदायमा हरित वातावरण निर्माणका लागि सक्रिय रहने जनाएको छ ।

संगालोखबर 



















