
विराटनगर । क्यान्सर रोगको भरपर्दो उपचारका लागि स्थापना भएको विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल अन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटमा नेपालकै पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठकाे सेवा उपलब्ध हुने भएकाे छ ।
श्रेष्ठले अबदेखि हस्पिटलको फिजियोथेरापी विभागबाट सेवा दिने छिन् । शल्यक्रिया र क्यान्सरको उपचार गराइरहेका बिरामीहरू सामान्यतयाः शारीरिक दुर्बलता, गतिविधिको सीमा र पुनः आत्मविश्वास खोजेर अलमलिरहेका हुन्छन् ।
अस्पतालका अनुसार नेपालमा यही समस्याको समाधान गर्ने कुनै विशेषज्ञ सेवा अहिलेसम्म उपलब्ध थिएन । अस्मिता श्रेष्ठको आगमनले यो महत्त्वपूर्ण खाडल भरिने अस्पतालले विश्वास लिएको छ । अंकोलोजी फिजियोथेरापीमा अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा हासिल गरेकी श्रेष्ठ बाहेक बीपीटी र एमपीटी-अंकोलोजी फिजियोथेरापीको विशेषज्ञता नेपालमा अरु कसैले पनि नपाएको हस्पिटलको दाबी छ।
श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेज धुलिखेलबाट माष्टर्स अफ फिजियोथेरापी (एमपीटी—अंकोलोजी थेरापी) गरेकी हुन् ।
स्नातक अध्ययनपश्चातको पाँच वर्षमा उनले विभिन्न किसिमका बिरामीहरूलाई फिजियोथेरापी सेवा प्रदान गरेको र त्यसपश्चात क्यान्सर बिरामीहरूमा रुची बढेपछि भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेशन एण्ड रिसर्चबाट एमपीटी-अंकोलोजी फिजियोथेरापीको अध्ययन गरेकी हुन् ।
उनले क्यान्सर बिरामीहरूलाई सर्जरी र किमोथेरापी पश्चातको शारीरिक पुनःनिर्माणमा वैज्ञानिक र प्रभावकारी फिजियोथेरापी सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ । ‘कुहिनो, घुँडा, काँख र अन्य अंगको गतिविधि सुधार, शारीरिक शक्ति वृद्धि र दैनिक कामकाज सामान्य गर्न उनले व्यक्तिगत र समूह आधारित थेरापी सेवा उपलब्ध गराउने अस्पतालले जनाएकाे छ ।
क्यान्सरका बिरामीहरूलाई अंकोलोजी फिजियोथेरापी विशेषज्ञ श्रेष्ठले आइतबारदेखि शुक्रबारसम्म बिहान ९ देखि साँझ ५ बजेसम्म परामर्श तथा उपचार सेवा प्रदान गर्नेछिन् ।
हस्पिटलको फिजियोथेरापी विभागले सन् २०१६ देखि अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ । हाल विभागले दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिन सक्ने क्षमता विकास गरेकाे छ ।
विभागमा अर्थो, स्पोर्ट्स, न्यूरोलोजी, कार्डियो, बालबालिका तथा स्त्रीरोग सम्बन्धी विशेषज्ञ टोलीले काम गर्दै आएको छ । हस्पिटलमा टेन्स थेरापी, अल्ट्रासाउन्ड, लेजर थेरापी, गेट ट्रेनर, मिरर थेरापी र मल्टी-स्टेशन जिम लगायत आधुनिक उपकरणहरू उपलब्ध छन्।

संगालोखबर 



















