संगालोखबर

विराटनगर । विराटनगरको कञ्चनवारीस्थित आर्या न्युरो हस्पिटलले दुर्बिन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सुरु गरेको छ । मेरुदण्ड सम्बन्धी रोगहरूको उपचारलाई आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले आर्याले इन्डोस्कोपी प्रविधिबाट स्पाइन शल्यक्रिया थालेको हो ।

Advertisement

अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु-भी-ई प्रविधि भित्र्याएको छ । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गर्ने गरिन्छ । यो प्रविधि मेरुदण्डको उपचारमा निकै प्रभावकारी र बिरामीमैत्री रहेको अस्पतालका वरिष्ठ न्युरो सर्जन डा.पंकजराज नेपाल बताउँछन् । डा.नेपाल भन्छन्, ‘यु-भी-ई प्रविधिमा करिव ८ एमएमका दुईवटा साना प्वाल बनाएर दुर्बिन छिराइन्छ । यसको माध्यमबाट मेरुदण्डमा नसा च्यापिएको ठाउँमा पुगेर त्यसलाई रिलिज गरिन्छ । यो निकै विकसित प्रविधि हो, जसमा दृष्यलाई ठूलो पार्ने म्याग्निफिकेसन क्षमता पनि धेरै राम्रो हुने भएकोले शल्यक्रिया अत्यन्तै सुरक्षित हुन्छ ।’

परम्परागत रुपमा खुला शल्यक्रियाको तुलनामा यस प्रविधिका धेरै फाइदाहरू छन् । डा. नेपालका अनुसार यो विधिबाट शल्यक्रिया गर्दा घाउ सानो हुने, रक्तश्राव कम हुने र संक्रमणको जोखिम पनि न्यून हुन्छ । ‘यसबाट बिरामी छिटै रिकभर हुन्छन् । शल्यक्रिया गरेको १-२ दिनमै बिरामी घर जान सक्छन् र चाँडै हिँडडुल गर्न सक्छन्,’ डा.नेपाल भन्छन् । चिकित्सकहरूका अनुसार विशेष गरी डिस्क खस्किने, साइटिका, नसामा दबाब पर्ने समस्या तथा मेरुदण्डका विभिन्न रोगहरूको उपचारमा एन्डोस्कोपिक स्पाइन सर्जरी प्रभावकारी मानिन्छ ।

यो सेवा सुरुवातसँगै कोशी प्रदेश लगायत विभिन्न क्षेत्रका बिरामीहरूलाई विश्वस्तरीय स्पाइन उपचार सेवा स्थानीयस्तरमै उपलब्ध भएको अस्पतालले जनाएको छ । आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय सेवामार्फत आर्या न्युरोलाई न्युरो सम्बन्धी उपचारको अग्रणी केन्द्रका रूपमा विकास गर्दै लगिएको अस्पतालका निर्देशक दिनेश ठाकुरको भनाई छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!