संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ देखि प्रदेशको उत्पादनलाई प्रोत्साहन गर्ने गरी कर्मचारीहरूलाई दिइने पोशाक भत्ता कार्यान्वयनमा ल्याएको छ ।  अब कोशी प्रदेशमै उत्पादन भएका ढाका, खाँडी (खादी) र अल्लो तथा अन्य कपडाबाट निर्मित अफिस पोशाक अनिवार्य रूपमा कर्मचारीले प्रयोग गर्ने भएका हुन् ।

बुधबार र शुक्रबार यो व्यवस्था लागू गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशले जानकारी दिएको छ । सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयका कर्मचारीहरूले आजदेखि स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउन सुरु गरेका छन् ।

Advertisement

सरकारले साताको दुई दिन स्थानीय उत्पादनबाट बनेको पोशाक लगाउनुपर्ने व्यवस्था गरेको छ । यसका लागि नियमित रूपमा प्रदान गरिँदै आएको पोशाक भत्तामा प्रतिव्यक्ति वार्षिक ५ हजार ५ सय रुपैयाँ थप गरी विशेष पोशाक सुविधा उपलब्ध गराइएको छ ।

आर्थिक वर्ष २०८३/०८४ देखि कोशी प्रदेशका स्थानीय तहहरूले पनि यो अभियानमा सहभागी हुन चाहेमा प्रदेश सरकारले लागत साझेदारी गर्ने नीति तथा आवश्यक बजेटको व्यवस्थापन गर्ने मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बताए ।

मुख्यमन्त्री कार्कीका अनुसार यस अभियानले कोशी प्रदेशमा उत्पादित ढाका, खादी र अल्लोजस्ता स्थानीय वस्तुको उत्पादन, बजारीकरण तथा प्रयोगलाई प्रोत्साहन गर्नेछ । यसबाट स्थानीय उद्योग र उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ ।

हाल कोशी प्रदेश सरकारअन्तर्गत करिब ३ हजार ९६ जना कर्मचारी कार्यरत छन् ।  स्वीकृत दरबन्दी ४ हजारभन्दा बढी छ । प्रदेश सरकारले कर्मचारीमार्फत स्थानीय उत्पादनको प्रयोग बढाउँदै स्वदेशी उद्योगको प्रवर्द्धन र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने लक्ष्य लिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!