काठमाडौं । लामो समयको प्रतीक्षा एवं चौतर्फी दबाबपछि बल्ल मंगलबार (आज)देखि अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान सुरु हुने भएको छ । आन्तरिकतर्फका उडानलाई भने आगामी भदौ मसान्तसम्म रोक्ने निर्णय गरेको सरकारले अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडानसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिनेछ ।

सरकारले विभिन्न ८ देशमाथि गत चैतदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार मंगलबारदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबारबाट सुरु हुने अन्तर्राष्ट्रिय नियमित तथा चार्टर उडानको तालिका बनाएर स्वीकृत गरी कार्यान्वयनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणमा पठाएको थियो । सोही तयारीअनुरूप अन्तर्राष्ट्रिय नियमित व्यावसायिक र चार्टर उद्धार उडान सञ्चालन हुन लागेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले मंगलबारको नियमित व्यावसायिक उडानका लागि विभिन्न पाँच वटा वायुसेवाको उडान तालिका तय भइसकेको बताए । प्रवक्ता क्षत्रीका अनुसार दुइटा नेपाल वायुसेवा निगमको काठमाडांैबाट दोहा र कुवेत, हिमालय एयरलाइन्सको दोहा र चीन उडान हुनेछ ।

यसैगरी, एयर अरेबियाको विमान सार्जाबाट काठमाडांै आएर यात्रु लिएर फर्किनेछ । यी उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

– सकेसम्म महँगो भाडा नतिराउने प्रयासमा सरकार
– भाडाको अनुगमन गर्न समिति गठन
– दैनिक विदेशबाट आउने संख्या बढाएर ८ सय पु-याइयो

पर्यटन मन्त्रालयले आगामी एक महिनासम्मका लागि तय गरेको नयाँ उडान तालिकाअनुसार अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारलाई अन्तर्राष्ट्रिय नियमित व्यावसायिक हवाई उडानले पुनः नेपालसँग जोडिदिनेछ ।

सरकारले मंगलबार पछि पनि स्वदेशी वायुसेवा कम्पनीबाट भइरहेका चार्टर उद्धार उडानलाई पनि जारी राख्ने निर्णय गरेको छ ।

सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको छ । सरकारले पहिलो चरणमा पिसिआर परीक्षण सम्भव हुने मुलुकमा मात्र नियमित व्यावसायिक उडानको अनुमति दिएको हो । चार्टर उडानमा बढी भाडा तिर्नुपर्ने भन्दै चौतर्फी विरोध भएपछि अहिले सरकार यस्ता मुलुकमा नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान खुलाउन बाध्य भएको हो ।

सरकारले नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडानको भाडादर महँगो हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमन समिति पनि गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चैतदेखि बन्द भएको नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै यस्तो उडानको भाडादर नियमन गरी महँगो हुन नदिने उद्देश्यले अनुगमन समिति गठन गरेको हो ।

विशेष अनुगमन र हवाई यात्रालाई थप सहज बनाउन सरकारले पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय अनुगमन समिति गठन गरेको हो । समितिको अन्य सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनिल शर्मा रहेका छन् ।

सो समितिलाई हवाई उडान भाडादर यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्ने, क्वारेन्टिन होटलले प्रदान गर्ने मापदण्डको विषयमा समेत स्थलगत अनुगमन गरी सेवाग्राहीलाई सहज वातावरण बनाउने, होटन एसोसिएसन अफ नेपाल (हान)लगायतका संघ संस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेशी यात्रु फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्ने कार्यादेशसमेत तोकिएको छ ।

पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको नयाँ उडान तालिकाअनुसार अब नेपाल आउने हवाई यात्रु र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्त पूर्ण पालना गर्नुपर्नेछ । अहिले सरकारले विदेशबाट नेपाल आउन पाउने दैनिक संख्यासमेत बढाएर ८ सय पु-याएको छ । यसअघि ५ सय दैनिक यात्रु भनिएकामा अब पर्यटन मन्त्रालयले क्वारेन्टिनको उचित व्यवस्थापन गरी थप ३ सय जनालाई दैनिक नेपाल आउन दिने निर्णय गर्न सक्नेछ । यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा पनि पर्यटन मन्त्रालयले नै पाएको छ ।

यसैगरी, पिसिआर रिर्पोट नहुने कारणले नियमित उडान नखुलेका स्थानमा कम्पनी स्वयंले टिकट काटेर नेपाल पठाउन चाहेमा वा कामदार आफैंले टिकट काटेर स्वदेश फर्कन चाहेमा समेत सरकारले नेपाल आउन अनुमति दिनेछ । जसका लागि चार्टर उडानले अनुमति पाउनेछन् । त्यस्ता मुलुकमा यसअघि समस्यामा परेका नेपालीलाई मात्र ल्याउने गरी चार्टर उडान तय भएका छन् । – मधुजंग पाण्डेले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!