काठमाडौं । गृह मन्त्रालयको सर्वेक्षणले मुलुकमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दो क्रममा रहेको देखाएको छ ।गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको सर्वेक्षणले २०६९ बाट २०७६ सम्मको सात वर्षे अवधिमा लागूऔषध प्रयोगकर्ताको संख्या बढेको र विगतमा भन्दा औसत वृद्धिदर घटेको देखाएको हो । तथ्यांकअनुसार नेपालमा दैनिक १५ जनाका दरले लागूऔषधका प्रयोगकर्ता थपिने गरेका छन् । प्रयोगकर्तामध्ये अधिकांश १५ देखि २९ वर्ष उमेर समूहका छन् ।

Advertisement

दैनिक १५ जना थपिँदै
सात वर्षमा ३८ हजार ८ सय जना बढेको तथ्यांक
विगतमा भन्दा प्रयोगको वृद्धिदर भने घट्यो

नेपालमा लागूऔषध प्रयोगकर्ताको २०६९ देखि २०७६ सालसम्मको औसत वृद्धिदर ५ दशमलव ०६ प्रतिशत मात्रै छ । यसअघि २०६३ देखि २०६९ को सर्वेक्षणमा भने औसत वृद्धिदर ११ दशमलव ३६ प्रतिशत थियो ।

सर्वेक्षणले २०७६ सम्म मुलुकभर कूल १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेको देखाएको छ । सो संख्या २०६९ मा गरिएको सर्वेक्षणमा भने ९१ हजार ५ सय ३४ थियो । जसअनुसार विगतका सात वर्षको अवधिमा नेपालमा लागूऔषधका प्रयोगकर्ता ३८ हजार ८ सय ९० ले बढेको देखिन्छ । २०६३ को पहिलो सर्वेक्षणले भने लागूऔषधको प्रयोगकर्ता नेपालमा ४६ हजार ३ सय ९ जना रहेको देखाएको थियो ।

मन्त्रालयले लागूऔषध प्रयोगकर्तालाई गत कात्तिक र मंसिरमा प्रत्यक्ष भेटेर पहिलो पटक प्रविधिको प्रयोगद्वारा तथ्यांक संकलन गरेको मन्त्रालयका लागूऔषध नियन्त्रण शाखाले जनाएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ अध्ययनले विगतका समयमा प्रतिदिन २१ जना प्रयोगकर्ता थपिने गरेकोमा यसपटकको अध्ययनमा भने सो संख्या घटेर प्रतिदिन १५ जनामा झरेको देखाएको बताउँछन् ।

सर्वेक्षणले प्रयोगकर्तामध्ये पुरुषको संख्या बढी रहेको देखाएको छ । बेरोजगारी समस्या बढ्दै जाँदा प्रयोगकर्ताको संख्यासमेत बढेको अध्ययनले देखाएको हो । गृह मन्त्रालयले औसत वृद्धिदर घटेको पाइए पनि प्रयोगकर्ता भने बढेको देखिएका कारण प्रयोग घटाउन नयाँ रणनीति र योजनाका साथ अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएको छ ।

मन्त्रालयले लागूऔषध प्रयोग र ओसारपसार कोरोना जस्तै भयावह रूपमा विश्वभर फैलँदै गएको भन्दै विश्वकै लागि यसको प्रयोग घटाउनु चुनौती रहेको बताउँदै आएको छ । अध्ययनले २० वर्षभन्दा कम उमेरमै पहिलोपटक लागूऔषधको प्रयोग गरिने गरेको पाइएको र सबैभन्दा बढी गाँजाको प्रयोग हुने गरेको देखाएको छ ।

अध्ययनअनुसार सबैभन्दा बढी लागूऔषध प्रयोग ३४ दशमलव ९ प्रतिशत धुँवाबाट हुने गरेको देखिन्छ । यस्तै, मुखबाट ३३ दशमलव ७ प्रतिशत, सुईबाट २९ दशमलव ३ प्रतिशत र सुँघेर २ दशमलव १ प्रतिशत लागूऔषध प्रयोग हुने गरेको अध्ययनले देखाउँछ । -महेश्वर गौतमले लेखेको यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!