काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न अपरिहार्य महसुस गरिएको छ ।
विश्वको सर्वौच्च शिखर सगरमाथालगायतका अन्य हिमाल नयाँ पर्यटकीय उत्पादन पर्वतीय पर्यटनका लागि आशालाग्दो क्षेत्र प्रमाणित हुने निर्विवाद छ ।
प्रचारप्रसारको अभावमा अन्तर्राट्रिय जगत्मा नेपालका पर्यटकीय सम्भावना भएका पर्वतीय पर्यटनको बजारीकरण एवं प्रवद्र्धन हुन सकेको छैन । पर्यटकलाई नयाँ स्वाद पस्किने उत्पादन नै पर्यटन वर्ष २०२० को विशेषता हुनसक्ने छ ।
अतिथिदेवो भवः भन्ने भावनालाई साकार तुल्याउँदै सेवाप्रवाह गर्न यस्ता पर्वतीय पर्यटनको प्रचारप्रसार हुनु जरुरी छ, भन्नुहुन्छ नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङ ।
देशको शान्ति सुरक्षा, राजनीति स्थिरता, अनुकूल मौसम र तीव्र प्रचारप्रसारका कारण पर्वतीय पर्यटनमा आकर्षण बढ्दो छ तर पर्याप्त प्रयास देखिँदैन । “नेपालमा यतिधेरै माउन्टेन छन् अहिलेको अवस्थामा आएका पर्यटक उल्लेखनीय होइन, गुरुङले भन्नुभयो, अझै प्रचारप्रसार गर्नु जरुरी छ ।”
उहाँले अघिल्लो वर्षको तुलनामा यो वर्ष पर्वतारोहण गर्ने पर्यटकको सङ्ख्या ११ प्रतिशतले वृद्धि भएको भन्दै पर्वतीय पर्यटनको विकासमा फड्को मार्ने विश्वास लिइएको विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पर्वतारोहण सङ्घका अनुसार सन् २०१६ मा पाँच हजार ८०० देखि छ हजार ५०० मिटर उचाइका हिमचुली आरोहण गर्ने पर्यटकको सङ्ख्या चार हजार ८२३ थियो । सन् २०१७ मा यसको सङ्ख्या बढेर पाँच हजार ९२९ पुगेको तथ्याङ्क छ ।
राजश्व भने सन् २०१६ मा सात लाख ५१ हजार ५३५ अमेरिकी डलर (रु आठ करोड ६४ लाख) थियो । २०१७ मा भने नौ लाख ९७ हजार ८२३ अमेरिकी डलर (रु ११ करोड ४७ लाख) राजश्व सङ्कलन भएको थियो । सन् २०१८ मा भने पर्यटकको आगमनमा वृद्धि भएको सङ्घको दाबी छ । नेपाल पर्वतारोहण सङ्घमार्फत नेपालका २७ हिमचुलीको व्यवस्थापन हुँदै आएको छ । नेपालको हिमालय क्षेत्रमा तीन हजार ३१० हिमचुली छन् । त्यसमध्ये छ हजार मिटर उचाइका एक हजार ३१० हिमचुली छन् ।
सात हजार मिटरमाथिका १२२ र आठ हजारमाथिका हिमचुली १४ वटा छ । सरकारले अहिलेसम्म ४१४ हिमचुलीमा प्रवेश खुला गरेको छ । जसमध्ये २७ हिमचुली आरोहणको व्यवस्थापन सङ्घले गर्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा अब सङ्घले नयाँनयाँ हिमचुलीको खोजी गरी पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुहुन्छ । “एउटै मान्छे एउटै हिमाल चढ्न बारम्बार आउँदैन, नयाँ ठाउँ खोज्नुपर्छ, तपाईहरु गर्नुहोस्, सरकारले यसमा सहयोग गर्छ ।” देवकोटाले भन्नुभयो ।
अहिले पर्वतारोहणका विदेशीलाई प्रतिव्यक्ति १२५ डलर प्रवेश शुल्क छ । नेपालीलाई रु दुई हजार छ । उनीहरुले एकपटक जाँदा तीनदेखि चार हजार डलरसम्म खर्च गर्ने गरेका छन् ।