विराटनगर । सातौं सामाजिक सुरक्षा दिवसको अवसर पारेर सामाजिक सुरक्षा कोषले आज मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज शिक्षण अस्पताललाई सम्मान गरेको छ । स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमध्ये आर्थिक बर्ष २०८०/०८१ मा कोशी प्रदेशबाट सबैभन्दा धेरै बिरामीलाई सामाजिक सुरक्षा कोष अन्तर्गत स्वास्थ्य सेवा उपलब्ध गराएबापत कोषले विराटलाई सम्मान गरेको हो ।
दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विराट मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत डिनिस कार्कीलाई प्रशंसा पत्र प्रदान गरेका छन् । विराट मेडिकल कलेज २०७६ सालमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको हो ।
विराटले २०८० साउनदेखि २०८१ असार मसान्तसम्मको अवधिमा सामाजिक सुरक्षा कोषमा आवद्ध १७ हजार ७ सय ८६ जना बिरामीलाई उपचार सेवा प्रदान गरेको विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत निरज श्रेष्ठले जानकारी दिए । विराटसहित कोशी प्रदेशका १७ वटा स्वास्थ्य संस्थाले सामाजिक सुरक्षा कोष अन्तर्गत बिरामीलाई सहुलियतमा उपचार गर्ने गरेका छन् ।
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका योगदानकर्ताले सूचीकृत स्वास्थ्य संस्थामा उपचार गराउँदा दुर्घटनाजन्य उपचारमा निःशुल्क सेवा पाउने गरेका छन् । दुर्घटनाजन्य बाहेक अन्य अवस्थामा कोषमार्फत उपचार गराउदा २० प्रतिशत शुल्क लाग्ने गरेको छ ।
सामाजिक सुरक्षा दिवसको अवसरमा कोषले अन्य विभिन्न विधामा उत्कृट भएकाहरुलाई पनि सम्मान गरेको छ ।