विराटनगर । मोरङको ग्रामथान गाउँपालिकामा उपनिर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । चोकदेखि गल्लीसम्म, घरदेखि खेतीसम्म उम्मेदवार, नेता, कार्यकर्ता र समर्थकको लर्को देखिन्छ । बिहानदेखि बेलुकासम्मै दुई हात जोड्दै, पर्चापम्पलेट बाँड्दै, दलगत चुनावी गीत घन्काउँदै घरदैलो अभियान चलिरहेको छ ।
काँग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएपछि देशका विभिन्न स्थानसँगै ग्रामथानमा पनि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । ग्रामथानमा अध्यक्ष पदको उपनिर्वाचनका लागि एक स्वतन्त्रसहित १६ उम्मेदवार यतिबेला घरदैलो अभियानमा व्यस्त छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले घरदैलोसँगै प्रचारप्रसारलाई तीब्र बनाएका छन् । चोकचोकमा आ-आफ्ना उम्मेदवारको पर्चा टाँसिएको छ । यसरी पनि प्रचारप्रसारका हिसाबले ठूला दल अगाडि देखिएका छन् । आ-आफ्ना उम्मेदवारसँगै भोट माग्न व्यस्त छन्, तीनै दलका जिल्ला, प्रदेश र केन्द्रसम्मका नेता, कार्यकर्ता र स्थानीय समर्थकहरू । कोशी प्रदेशमा सात वडाध्यक्ष र एक पालिका अध्यक्षका लागि उपनिर्वाचन हुँदैछ ।
त्यसैले पनि ग्रामथानमा सबैको ध्यान केन्द्रित भएको हो । नेपाली काँग्रेसका उम्मेदवार बलराम सरदारको घरदैलो अभियानमा पूर्वमन्त्रीहरू महेश आचार्य, मिनेन्द्र रिजाल, डिकबहादुर लिम्बू, प्रदेश सांसद द्वय भीम पराजुली, अमृत अर्याललगायत खटिएका छन् ।
नेकपा एमालेका उम्मेदवार तुलसीराम विश्वासको घरदैलो अभियानमा एमालेका कोशी प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा सँगसँगै छन् । यस्तै विनोद ढकाल र जीवन घिमिरे पनि घरदैलो अभियानमा सँगै छन् ।
माओवादीका उम्मेदवार नमो नारायण माझीको घरदैलो अभियानमा पूर्वमन्त्री तथा सङ्घीय सांसद अमनलाल मोदी सँगसँगै छन् । यस्तै केन्द्रीय सदस्य गोपी अछामी, पूर्वराज्यमन्त्री विजयकुमार विश्वास र पूर्वसांसद कुलप्रसाद साम्बालगायतका नेताहरू भोट माग्न व्यस्त छन् ।
के भन्छन् उम्मेदवार ?
बलराम सरदार
घरदैलोका क्रममा आफ्नो जित निश्चित देखिएको उम्मेदवारहरूले दाबी गरिरहेका छन् । घरदैलो अभियानका क्रममा भेटिएका नेपाली काँग्रेसका उम्मेदवार बलराम सरदारले सकारात्मक प्रतिक्रिया पाइरहेको बताए । उनले २०७९ को चुनावमा नेपाली काँग्रेसले नै जितेको भन्दै पुनः सफलता दोहोरिने निश्चित जस्तै देखिएको सुनाए ।
‘म यही स्थानमा जन्मे हुर्केको मान्छे हुँ’, सरदारले भने, ‘म यहाँको बारेमा विज्ञ छु । विगतमा काँग्रेसले गरेका कामहरू पनि मेरा लागि जित्ने आधार हुन् । त्यति मात्र नभएर महत्वपूर्ण एजेण्डाहरू पनि अघि सारेको छु ।’
दिवंगत अध्यक्षले अघि सारेका योजना पूरा गर्ने आफ्नो प्रमुख एजेण्डा भएको उनले सुनाए । भने, ‘अन्य योजनाहरू पनि छन् । जस्तै ग्रामथानको स्वास्थ्य क्षेत्रमा सुधार, शिक्षाको सुधार र कृषि क्षेत्रको सुधारमा भूमिका खेल्छु ।’
उनले सामुदायीक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क कपी-कलम उपलब्ध गराउने समेत बताए । यसैगरी ज्येष्ठ नागरिकको घर–घरमै सामाजिक सुरक्षा भत्ता पुर्याउने र अन्य आवश्यक काम गर्ने उल्लेख गरे । उनले आफ्नो प्रतिस्पर्धी एमाले रहेको बताए ।
तुलसीराम विस्वास
घरदैलो अभियानकै क्रममा भेटिएका एमालेका उम्मेदवार तुलसीराम विस्वासले आफ्नो पक्षमा माहोल बनेको दाबी गरे । उनले भने, ‘घरदैलोमा जाँदा स्थानीयको कुरा सुनेर यहाँका समस्या टिपोट गरिरहेको छु । उहाँहरूको सोच अनुसार मैले काम गर्न सक्छु भन्नेमा विश्वस्त छु । उहाँहरूबाट मैले राम्रो प्रतिक्रिया पाइरहेको छु ।’
उनले आफूलाई विजयी घोषित गर्दा फरक नपर्ने बताए । ‘म युवा उम्मेदवार हुँ’, उनले हामीसँग भने, ‘अब चुनाव पनि नजिकिएको छ । घरदैलो अभियानमा ग्रामथानबासीबाट जुन प्रतिक्रिया पाएँ । हुन त चुनाव हुन बाँकी नै छ । तर मलाई विजयी घोषित गर्दा पनि फरक पर्दैन ।’
जनताका समस्या बुझेर आफूले उम्मेदवारी दिएको उनले बताए । घरदैलैका क्रममा सामाजिक सुरक्षा भत्ता व्यवस्थित गरिदिन धेरैले आग्रह गरेको उनले बताए । उनले यसलाई सहज बनाउन आफूले भूमिका खेल्ने सुनाए ।
यसैगरी शिक्षामा सुधार गर्नुपर्ने अवस्था देखेको उनको भनाइ छ । ‘सरकारी विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको पाएँ । म शैक्षिक सुधारमा अलि बढी ध्यान दिन्छु’, उनले थपे, ‘सबै जनाको अहिले निजी स्कुल तिर ध्यान केन्द्रित छ । दुःखसुख सबैले आफ्ना बालबच्चा निजी स्कुलमा नै भर्ना गराएको पाइन्छ । यसको कारण त्यहाँ राम्रो पढाइ हुन्छ भन्ने हो । तसर्थ सरकारी विद्यालयको अवस्था सुधार गर्न भूमिका खेल्ने छु ।’
यस्तै कृषिका क्षेत्रमा पनि आफूले समस्या देखेको उनको भनाइ छ । ‘म कृषककै छोरा हुँ । मैले पनि कृषकका समस्या बुझेको छु । अहिले पनि कृषिमै आवद्ध छु’, उनले भने, ‘यहाँ सिँचाइको अभाव छ । त्यही अनुसार काम गर्ने छु ।’
जित भएको खण्डमा कृषकलाई सिँचाइको सुविधा पुर्याउने र सो वापतको विद्युत महशुल निःशुल्क गराउने उनले सुनाए । यस्तै युवाहहरूका लागि स्वरोजगारमुलक कार्यक्रम सञ्चालन गर्ने उनले बताए । उनले आफैँ वैदेशिक रोजगारीमा गएर आएको बताउँदै उद्यमशीलतासँग जोडेर युवाहरूलाई यँही रोजगारी सिर्जना गर्न सकिने उल्लेख गरे । यस्तै स्वास्थ्यका क्षेत्रमा पनि सुधार गर्ने उनले बताए ।
उनले आफूसँग प्रतिस्पर्धा गर्ने कोही उम्मेदवार नभएको बताए । उनले भने, ‘आजका दिनमा जित निश्चित भइसकेको छ । सबैले आ–आफ्नै दाबी गर्न सक्छन् । तर भयो भने काँग्रेससँग प्रतिस्पर्धा हुन सक्छ । तर पनि काँग्रेसलाई जित्न सक्छु ।’
नयाँ दलबाट पनि आफूलाई कुनै ‘थ्रेट’ महशुस नभएको उनले उल्लेख गरे । उनले भने, ‘उहाँहरूसँग कुनै एजेण्डा नै छैनन् । नयाँ भनेर मात्र केही हुँदैन । पूर्व तयारी नगरी स्वतन्त्र भनेर चुनाव उठेर मात्र हुँदैन । अरुबेला पनि जनताको काममा लाग्नुहोस्, अनि जनताले पत्याउने दिन आउँछ ।’
नमो नारायण माझी
घरदैलो अभियानकै क्रममा भेटिएका माओवादी केन्द्रका उम्मेदवार नमो नारायण माझीले आफूले जनताको हकहितका लागि काम गर्ने बताए । गाउँपालिकाको समग्र बिकास र सुधारका लागि आफूलाई जनताले भोट दिने उनको भनाइ छ । उनले काँग्रेस र एमालेसँग कुनै एजेन्डा नै नभएको सुनाए । काँग्रेस र एमालेसँग गाउँपालिकाबासी दिक्क भएकाले जनताले आफूलाई खोजेको उनको भनाइ थियो ।
‘म काल्पनिक कुरा गर्दिन । म आफूले गर्न सक्ने जे हो, जनतालाई त्यही भनिरहेको छु’, उनले हामीसँग भने, ‘मैले जितेपछि सबैभन्दा पहिले गाउँपालिका कार्यालयको सम्पूर्ण कुराहरू सुधार गर्नेछु । गाउँपालिकाको कार्यालयलाई ‘सिस्टम’मा ल्याउने छु ।’
उनले आफूले भ्रष्टाचारको जरैदेखि अन्त्य गर्ने बताए । ‘गाउँपालिकामा जुन गतिमा विकास हुनुपर्ने हो त्यो हुन सकेको छैन’, उनले भने, ‘म विकास निर्माणको कामलाई तीब्र बनाउँछु । सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा पनि मेरो प्राथमिकता रहनेछ ।’
सामूदायीक विद्यालय प्रति अभिभावकको विश्वास हट्दै गएको अवस्थामा विश्वासीलो बनाउने वातावरण तयार गर्ने उनले सुनाए । स्वास्थ्य क्षेत्रमा पनि आमूल परिर्वतन गर्ने उनको भनाइ छ । आधारभूत स्वास्थ्य सेवा निःशुल्क गाउँबासीलाई उपलब्ध गराउन आफूले भूमिका खेल्ने उनले बताए । गाउँपालिकालाई बालमैत्री बनाउने गुरुयोजना निर्माण गर्ने उनको भनाइ छ ।
आफूले जितेमा जनतालाई स्थानीय सरकार रहेछ है भन्ने महशुस गराउने उनले बताए । ‘ग्रामथानबासीले गौरव गर्ने वातावरण बनाउने छु’, उनले भने, ‘मैले अहिले भनेअनुसार नै काम गर्नेछु ।’ उनले काँग्रेस र एमाले आफ्ना मूख्य प्रतिष्पर्धी रहेको बताए । त्रिपक्षीय प्रतिष्पर्धामा आफू अगाडि रहेको उनको भनाइ छ ।
यस्तो छ अंकगणित ?
२०७४ सालको स्थानीय तह निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका शिवनारायण माझी थारु चार हजार सात सय २० मत ल्याएर विजयी भएका थिए । उनीसँग तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जयप्रकाश गच्छदार थारु ५९ मतले पराजित भएका थिए ।
नेपाली काँग्रेसले तीन हजार एक सय ४३ मत पाएको थियो भने नेकपा माओवादी केन्द्रले एक हजार छ सय दुई मत पाएको थियो । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई सय ९७ मत पाएको थिए । स्थानीय तह निर्वाचन २०७९ मा नेपाली काँग्रेसका जयप्रकाश गच्छदार थारु सात हजार छ सय पाँच मत ल्याएर अध्यक्षमा विजयी भएका थिए ।
उनीसँग नेकपा एमालेका शिवनारायण माझी थारु एक हजार पाँच सय १२ मतले पराजित भएका थिए । निर्वाचन अगाडि नै तत्कालिन फोरम लोकतान्त्रिक र काँग्रेसबीच पार्टी एकता भएको थियो । २०७९ मा नेकपा माओवादी केन्द्रले दुई हजार सात सय २७ मत ल्याएको थियो । जुन २०७४ को तुलनामा एक हजार एक सय २५ मत बढी हो ।
वडामा को अगाडि ?
ग्रामथानमा सात वटा वडा मध्ये २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले पाँच वडा जितेको छ । २०७४ मा एमालेले एउटा वडामा मात्रै विजयी भएको थियो । एमालेले २०७४ मा सात वटा वडामा तीन हजार चार सय ९० मत ल्याएकोमा २०७९ मा छ हजार सात सय ६३ मत ल्याएको थियो । जुन २०७४ को भन्दा तीन हजार दुई सय ७३ मत बढी हो ।
नेपाली काँग्रेसले २०७४ मा तीन हजार नौ सय ४९ मत पाएको थियो । २०७९ को निर्वाचन अगाडि नै मधेशी जनअधिकार फोरम र काँग्रेसबीच पार्टी एकीकरण भएको थियो । तर काँग्रेसले सोचेजस्तो नतिजा ल्याउन सकेन । २०७४ मा दुई वडा जितेको काँग्रेसले २०७९ मा एउटा वडामा मात्र जित्न सफल भयो । २०७९ मा पाँच हजार पाँच सय ३७ मत प्राप्त गरेको थियो ।
जुन २०७४ को तुलनामा एक हजार पाँच सय ८८ बढी हो । जबकी २०७४ मा फोरमले चार वटा वडामा जित निकालेको थियो । फोरमले सात वटै वडामा जम्मा चार हजार पाँच सय २७ मत ल्याएको थियो । यसैगरी माओवादी केन्द्रले २०७४ को तुलनामा २०७९ मा मत बढाउन सफल भएको छ । २०७४ मा सातै वडाबाट एक हजार सात सय १५ मत पाएको माओवादीले २०७९ मा दुई हजार सात सय ७५ मत ल्याएको थियो ।
जुन अघिल्लो निर्वाचनको तुलनामा नौ सय ५० बढी हो । २०७९ को निर्वाचनमा माओवादीले एउटा वडामा जित निकालेको थियो । राप्रपा भने अघिल्लो निर्वाचनको तुलनामा २०७९ मा कमजोर देखिएको थियो । उपनिर्वाचनका लागि ग्रामथानमा सात वटा वडामा २६ हजार ४४ मतदाता रहेका छन् ।