संखुवासभा, १५ माघ । संखुवासभाका सरकारी कार्यालयका परम्परागत उजुरीपेटिका प्रयोगबिहीन बन्दै गएका छन् ।

Advertisement

सरकारी कार्यालयहरूमा काम कारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् ।

सुशासन, पारदर्शी र जवाफदेहिताको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन् । धुलोमैलो, माकुराको जालो भरिएको तथा मुसा र भित्तिको बासस्थान समेत बनेको भेटिन्छन् ।

जिल्लाका अधिकांश सरकारी कार्यालयका यस्ता पेटिका सबै औचित्यहीन बन्दै गएका छन् । सेवाग्राहीको धेरै चाप हुने संखुवासभाको जिल्ला प्रशासन तथा जिल्ला प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयका ती पेटिकामा न कहिले उजुरी पर्ने गरेका छन् भने न त कसैले गुनासो लेखेर बक्समा हाल्ने गरेको पाइन्छ । कुनै पनि सरकारी कार्यालयमा सुझाव, गुनासोको एक टुक्रा पनि परेको नदेखिएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए । ‘हाम्रो कार्यालयमा पनि उजुरी पेटिका छ,’ उनले भने, ‘अहिलेसम्म कुनै उजुरी परेर खोलेको मलाई थाहा छैन ।’ प्रजिअ जोशीले भने ।

समय आधुनितातर्फ बढ्दै गएका कारण उजुरी नपरेको उनी बताउँछन् । ‘कुनै बेला सुझाव र गुनासोले भरिएका सुझाव पेटिकामा जम्मा हुन्थ्ये । अहिले समय नै परिर्वतन भइसकेको छ । गुनासो, उजुरी तथा सुझाव बक्समा पर्दैन, अनि खोलिदैन,उनले भने ।’ प्रशासन कार्यालय मात्रै होइन, सेवाग्राहीको चाप बढी हुने जिल्ला मालपोत, जिल्ला समन्वय समिति, नगरपालिका कार्यालय, निर्वाचन कार्यालय कतै पनि उजुरी र गुनासो पेटिकामा खसेको पाइदैन् ।

सरकारी सेवा चुस्तदुरुस्त बनाउनको लागि प्रायः जसो ती उजुरीपेटिका राखिएका हुन । सबै सेवाग्राही सम्बन्धित अधिकारी र कर्मचारी समक्ष पुगेर गुनासो र उजुरी गर्न पाउन भनेर विशेष रूपमा उजुरीपेटिका राख्ने गरिन्छ ।

सरकारी कार्यालयहरूमा कामकारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्ती लगायतको बारे सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस र सुर्धान, ढिलासुस्ती गने कर्मचारीलाई कारवाही गर्नको लागि पनि ती उजुरीपेटिका झुन्ड्याउने गरिन्छ । सरकारी मात्रै नभई सेवा प्रदायक कार्यालयमा यस्तो पेटिका राख्ने कानुनी प्राबधान छ । तर, पछिल्लो समय सूचना प्रविधिको विकास र नागरिकमा चेतनाको बृद्धिकै कारण सुझाव पेटिका प्रयोगविहीन भएको प्रमुख जिल्ला अधिकारी जोशीको भनाइ छ ।

‘सेवाग्राहीको केही गुनासो भए गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तथा कार्यालय प्रमुखलाई सिधै मौखिक रुपमा सेवाग्राहीले कुरा राख्न पाउँदछन्,’ उनले भने, ‘गुनासो तथा उजुरीपेटिकामा किन लेखेर हाल्नु पर्यो त !’ अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी भएका कारण पनि सेवाग्राहीलाई सजिलो भएको तथा सेवाग्रही पनि धेरै सचेत भइसकेका छन् ।

कार्यालयको सेवामा चित्त नबुझे प्रमुखलाई नै भेटेर गुनासो र उजुरी गर्ने गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ऋषी दहालले बताए । उनले भने,—‘कोही लेखेर कार्यालयको इमेलमा पठाउँछन भने कोही सिधै फोन गरेर भन्न पाउने प्रविधिको विकास भएको छ ।’

इमेल, फोनले हिजोआज चिठ्ठीपत्रसमेत हराउन थालेका छन् । जिल्ला हुलाक कार्यालय संखुवासभाका प्रमुख रुद्र बहादुर बुढाथोकीले सरकारी कार्यालयका मात्र चिठ्ठीपत्र आउन जाने गरेको बताए । ‘मैले मेरै कार्यालयका अति आवश्यक चिठ्ठीहरू स्क्यान गरेर मेल गर्छु,’ उनले भने, ‘चिठ्ठीपत्र पुग्नुभन्दा अगाडि नै इमेलबाट छिटो पठाउन सकिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!