संगालोखबर


विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरको वाइआरसीसी क्रिकेट क्लबले जितेको छ । विराटनगर जुटमिलको खेल मैदानमा मंगलबार सम्पन्न भएको फाइनल खेलमा विराटनगरको होराइजन क्रिकेट क्बललाई २०० रनको फराकिलो अन्तरले हराउँदै वाइआरसीसीले उपाधि जितेको हो ।

जितसँगै वाइआरसीसीले १ लाख ५१ हजार र ट्रफी हात पारेको छ । उपविजेता बनेको होराइजनले ७५ हजार रुपैयाँमा चित्त बुझायो । वाइआरसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ २४६ रन बनाएको हो । जितको लागि वाइआरसीसीका देव खनालले आक्रामक ब्याटिङ गर्दै सतक कटाए । उनले ३४ बलमा ११२ रन बनाए । खनालले १२ छक्का र ८ चौका हिर्काए । उनले यसअघि पनि २९ बलमा शतक कटाएका थिए ।

Advertisement

नारायण जोशीले १६ बलमा ४९ रन बनाए । उनले ५ छक्का र ४ चौका हिर्काए । अभिषेक पाठकले १८ बलमा ३३ रन पारी खेल्दा विपिन खत्रीले १४ रन बनाए । वाइआरसीसीका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । होराइजनका बलर इमरान शेखले ३ विकेट लिए । दिपेश कँणेल, श्रवण किस्कुले समान २–२ विकेट लिए ।

वाइआरसीसीले दिएको २४७ रनको विशाल लक्ष्य पछ्याएको होराइजनले ७.१ ओभरमा सबै विकेट गुमाइ ४६ रन मात्रै बनायो । सुजन थपलियाले १२ रन, दिपेश कँणेलले १० रन बनाए । होराइजनका अन्य ब्याटरले दोहोरो अंक ल्याउन सकेनन् । उपाधि हात पार्न वाइआरसीसीका हेमन्त धामीले आक्रामक बलिङ गरे । उनले एक्लै ३.१ ओभरमा १६ रन खर्चेर ७ विकेट लिए । उनी खेलको प्लेर अफ द म्याच घोषित भए । त्यसैगरी बिपिन खत्रीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

प्रतियोगिताको बेस्ट बलर होराइजन क्रिकेटका श्रवण किस्कु घोषित भए । उनले खेलभरमा ११ विकेट लिए । बेस्ट ब्याटर वाइआरसीसीका देव खनाल र म्यान अफ द सिरिज वाइआरसीसीका अभिषेक पाठक घोषित भए । अभिषेकले खेलभरमा २१६ रन बनाएका थिए । प्लेयर अफ द म्याच वाइआरसीसीका हेमन्त धामी भए ।

बिजेता हुने टिमलाई कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, राज्यमन्त्री सृजना राई, खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुररी चौधरीले वितरण गरेका थिए । मिल्स क्रिकेट क्लब एण्ड एकेडेमी र नेपाल खेलकुद महासंघको आयोजनामा वैशाख २८ गते सुरु भएको प्रतियोगितामा नेपालका १० र भारतका ६ गरी १६ टिमको सहभागी रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!