चितवन, १६ कात्तिक । वहुप्रतिक्षित र राष्ट्रिय महत्वको नारायणगढ-मुग्लिन सडकखण्ड सरासर निर्माण भएको भए गत बैशाख महिनामा नै काम सकिन्थ्यो । तर ठेकेदारको ढिलासुस्ती र नानाथरीको बाहानाबाजी कारण ठेक्का सम्झौताको म्याद ३ पटकसम्म थप गरियो । जसले गर्दा आयोजना अझै एक वर्ष लम्विने र आउने वर्षको असारसम्म जेनतेन पूरा हुने विश्वास सडक आयोजनाको छ ।
भूकम्प र नाकावन्दीको रेडिमेड जवाफ बिक्री हुन छाडेपछि ठेकेदारहरूले चाडपर्व, निर्वाचन, दिउँसोमा काम गर्न नपाएको, भौगोलिक बनावट गार्हो भएको जस्ता नयाँ-नयाँ तुरुप लगाउने थाले । थपिएको अन्तिम पटकको म्याद सकिन अब ३ महिना बाँकी रहँदा तिनै ठेकेदारले फेरि सडकखण्डका पुल निर्माणको जिम्मा पाएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डमा ४ वटा पुल निर्माणका लागि दुई वटा कम्पनीले हालै सम्झौता गरेका छन् । चारवटा पुल निर्माण गर्न दुई नेपाली ठेकेदार कम्पनीहरु लामा कन्स्ट्रक्सन र रौताहा निर्माण कम्पनीसँग सम्झौता गरिएको हो ।
सडक विभागले ४ वटा पुल निर्माणका लागि दुई वटा कम्पनीलाई निर्माणको जिम्मा सुम्पिँदा तिनै कम्पनी भने तेस्रोपटक पनि सडक निर्माणमा म्याद थप्ने लविङमा छन् । यो सडकखण्डमा १८ वटा पुल निर्माण गर्नुपर्ने छ । अहिले ४ वटा नयाँ पुलले सडकखण्डको दासढुंगा पुल, खानीपुल, मौरीपुल र जलबीरे पुललाई विस्थापित गर्नेछन् ।
जलवीरे पुल १४ करोड रुपैयाँमा ठेक्का दिइएको छ । अन्य तीन पुलको कूल निर्माण लागत १३ करोड रुपैयाँ रहेको छ । जलवीरे पुल निर्माणको ठेक्का सोही खण्डमा सडक निर्माण गरिरहेको सुपि्रम रौताहा जेभीमध्ये नेपाली कम्पनी रौताहाले पाएको छ । जलवीरे पुल ८० मिटर लामो हुनेछ ।
३ खण्डमा विभाजित यस आयोजनामा सबैभन्दा सुस्त गतिमा काम गरिरहेको रौताहा कम्पनीले नै पुल निर्माणको पनि काम पाउनुलाई कतिपयले मिलेमतोको रूपमा हेरेका छन् ।
सिमलतालदेखि मुग्लिनसम्मको सडक निर्माणको जिम्मा यसैको हो । यो कम्पनीले जम्मा ५२ प्रतिशतमात्र काम सकाएको छ भने बाँकी दुई कम्पनीले क्रमशः ५३ र ६४ प्रतिशत प्रगति हासिल गरेका छन् ।
लामालाई ३ वटा पुल
दासढुंगादेखि सिमलतालसम्मको सडक निर्माणको जिम्मा पाएको वुड हिल लामा जेभीमध्ये नेपाली कम्पनी लामाले ४ मध्ये ३ वटा पुल बनाउने छ । खानी पुल, दासढुंगा पुल र मौरी पुलको जिम्मा उसले पाएको हो । यो कम्पनीले सडक निर्माणको काम ६४ प्रतिशत सकाएको छ ।
मौरीपुल र खानीपुल ३०-३० मिटरका तथा दासढुंगा पुल २० मिटर लम्बाइका हुनेछन् । हाल सिंगल लेन रहेका पुलको चौडाइ ११ मिटर हुनेछ । एक्काइस महिनाभित्र निर्माण गरिसक्नुपर्ने ती पुलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेकाले आउँदो साताबाट काम सुरू हुने इञ्जिनियर शिव खनालले जानकारी दिए ।
सडक विभागको वैदेशिक महाशाखाले पुल निर्माणको अनुगमनको जिम्मेवारी नारायणगढ-मुग्लिन सडक आयोजनालाई नै दिएको छ ।
३ महिनामा ४ प्रतिशत काम
३ महिनाअघि नारायणगढ मुग्लिन सडकखण्डको अवलोकन गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणको काम दु्रत गतिमा अघि बढाउन निर्देशन दिएका थिए । उनले निर्देशन दिएको ३ महिना वित्दा मुस्किलले जम्मा ४ प्रतिशत काम भएको छ । समग्रमा तीन वटा कम्पनीको काम ५७ प्रतिशत छ । प्रधानमन्त्री देउवा निरीक्षण गर्न आउँदा जम्मा ५३ प्रतिशत काम सकिएको थियो ।
प्रधानमन्त्रीसहितको टोलीलाई निर्माणको अवस्थाबारे जानकारी गराउँदा आयोजना प्रमुख चन्द्रनारायण यादवले साउन १५ सम्म लगभग साढे ५३ प्रतिशत काम पूरा भएको बताएका थिए । जब कि लक्ष्य अनुसार त्यो बेलासम्म ८२ प्रतिशत काम सकिनुपर्ने थियो ।
फेरि दिउँसोमा काम बन्द गर्ने तयारी
थपिएको सम्झौता अवधि फेव्रुअरी २० सम्म मात्रै छ । यो अवधि सकिन ३ महिना बाँकी छ । तर, काम भने ३३ प्रतिशत बाँकी नै छ । ८ सय मिटर कडा र जोखिम डाँडा कटान गर्न अझै बाँकी छ ।
यो ८ सय मिटर कटान गर्ने काम भनेको आयोजनाको अहिलेसम्मको काम जतिकै बराबरको हुने आयोजनाका इन्जिनियर शिव खनाल बताउँछन् । यसबाट थाहा हुन्छ तेस्रोपटक थपिएको अवधि भित्र पनि फेरि काम सकिने छैन । यसअघि ०७२ माघ १९ मा पहिलोपटक, ०७३ मंसिर १६ दोस्रोपटक र ०७४ असार १९ मा गरि ४ पटक म्याद थप गरिसकिएको छ । आयोजनाले कामलाई तिव्रता दिन भन्दै पुनः दिउँसोमा यातायात बन्द गर्ने प्रस्ताव प्रशासन समक्ष लैजाने तयारी गरेको छ ।
आयोजनाका इन्जिनियर खनालले वर्षा र चाडवाडको समय आदिले गर्दा काममा ढिलाई भएकाले अब तीव्रता दिन पुनः यातायात अवरुद्ध गर्नुपर्ने बताए । तर, कहिलेबाट भन्ने कुरा एकिन भएको छैन ।
आगामी मंसिर २१ गते तराईका जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने तयारी भएका कारण यो सडकखण्डमा यातायातको चाप बढ्ने छ । त्यसले पनि निर्माणमा प्रत्यक्ष असर पार्दा ठेकेदारहरूका लागि थप बाहना बन्न सक्ने देखिन्छ ।-अनलाइनखबर