काठमाडौं, १४ कात्तिक । विदेशमा भएका नागरिकलाई समेत भोट खसाल्ने व्यवस्था गर्नुपर्ने आवाज उठिरहेका बेला स्वदेशमै भएका राष्ट्रसेवक कर्मचारी नै मताधिकारबाट वञ्चित हुने भएका छन् ।
आसन्न प्र्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले मतदान गर्न नपाउने भएका हुन् । चुनावमा खटिने र आफ्नो स्थायी ठेगानामा जान नपाउने कर्मचारीको अस्थायी मतदाता नामावली तयार पार्नुपर्ने भए पनि अहिलेसम्म त्यसतर्फ ध्यान नदिएकाले कर्मचारी तथा सुरक्षाकर्मीले भोट हाल्न नपाउने भएका हुन् ।
यसअघि भएका केन्द्रीय स्तरका चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी र कारागारमा रहेका बन्दीले समेत भोट खसालेका भए पनि योपटक भने त्यस्तो सुविधा पाउने छैनन् । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘अस्थायी मतदाता नामावली बनाउनेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । आयोग निर्वाचन सम्बन्धी कानुनअनुसार अघि बढ्छ ।’
चुनाव सुरु हुन २६ दिन मात्र बाँकी रहँदासमेत अस्थायी मतदाता नामावलीबारे आयोग अनिर्णित भएसँगै सुरक्षाकर्मी र चुनावमा खटिने कर्मचारीले मताधिकारबाट वञ्चित हुने निश्चित भएको छ । जसबाट चुनावमा प्रत्यक्ष खटिने झण्डै तीन लाख कर्मचारी, एक लाख ७३ हजार सुरक्षाकर्मी, ९८ हजार म्यादी प्रहरी र हजारौं कैदीसहित सात लाख नागरिक मताधिकारबाट वञ्चित हुने छन् ।
२०६४ र २०७० सालमा भएको संविधानसभाको चुनावमा अस्थायी नामावली तयार पारेर सबैलाई भोट खसाल्ने सुविधा दिइएको थियो । अस्थायी नामावली स्थायी मतदाना नामावली भएकाहरुमध्येबाट संकलन गर्नुपर्ने व्यवस्था मतदाता नामावली सम्बन्धी ऐनले गरेको छ । चुनावमा प्रत्यक्ष खटिने मात्र नभइ आफ्नो स्थायी ठेगानामा जान नपाउने कुनै पनि किसिमका कर्मचारीले अस्थायी रुपमा मतदान गर्न पाउने कानुनी व्यवस्था भए पनि निर्वाचन आयोगले योपटक त्यसतर्फ ध्यान नै दिएन ।
अस्थायी मतदाताले समानुपातिकतर्फ मात्र भोट खसाल्न पाउने कानुनी व्यवस्था छ । मतदाता नामावली सम्बन्धी ऐनको दफा ३० मा भनिएको छ, ‘समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव प्रयोजनका लागि आयोगले छुट्टै अस्थायी मतदाता नामावली तयार गराउन सक्नेछ ।’
कस्ता कस्ता व्यक्ति अस्थायी नामावली तयार पार्न सकिन्छ ?
ऐनको दफा ३० को उपदफा २ ले अस्थायी नामावली तयार पार्न सकिने व्यवस्था यस्तो गरेको छ :
- (क) नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको
- स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी
- (ख) ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी
- (ग) कारागारमा रहेका थुनुवा र कैदी तर निर्वाचन कसूरमा सजाय भोगीरहेको व्यक्तिको नाम अस्थायी मतदाता नामावलीमा समावेश गरिने छैन ।
- (घ) निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी
- (ङ) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालन भएको वृद्धाश्रममा बसेको व्यक्ति
- (च) आयोगले तोकेको अन्य व्यक्ति ।
किन तयार पारिएन अस्थायी नामावली ?
मंसिरमा एकैपटक प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । दुवै तहमा समानुपातिक प्रणालीको व्यवस्था गरिएको छ । प्रतिनिधिसभाका लागि देशको जुनसुकै स्थानबाट मत खसाले पनि उस्तै हुने तर प्रदेशको हकमा त्यस्तो हुँदैन ।
एउटा प्रदेशमा स्थायी नामावली भएको कर्मचारी र सुरक्षाकर्मी अर्को प्रदेशमा खटिने र त्यहाबाट मतदान गर्न नपाइने हुँदा अस्थायी नामावली तयार पार्न नसकिएको आयोगको जिकिर छ । समानुपातिक तर्फको मततपत्र एउटै भएकाले अस्थायी नामावली भएकालाई मतदान गर्न दिन नसकिने आयोग स्रोतको भनाई छ ।
विदेशमा भएका नागरिकलाई समेत मतदान गर्ने अवसर दिनुपर्ने आवाज उठिरहेका बेला स्वदेशमै भएका र चुनावमै खटिएका नागरिकलाई नै मतदान जस्तो महत्वपूर्ण अधिकारबाट वञ्चित गरिनु उनीहरुमाथि अन्याय गरिनु हो ।