
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ शनिश्चरेका ३० वर्षीय जीवन रेग्मी दशैं अगाडि नै घर आउने तयारीमा थिए ।
विदेशमा रहेका दाजु जगन रेग्मीलाई भनेका थिए, असोज १०/१५ तिर घर जान्छु । तर १० भदौमा आएको विनाशकारी बाढीपछि जीवन सम्पर्कविहीन छन् । बाढी आएको सातौं दिनसम्म उनको अवस्था अज्ञात छ ।
‘भाइसँग बाढी आउनुभन्दा एक/दुई दिन अघि म्यासेन्जरमा कुरा भएको थियो’, रोजगारीको सिलसिलामा दुवैमा रहेका जगनले संगालोखबरसँग भने, ‘अहिलेसम्म भाइको अवस्था अज्ञात छ ।’
जगनका अनुसार जीवन करिब दुई/अढाई वर्षदेखि रसुवा, त्रिशूली, चितवन लगायतका क्षेत्रमा रहेको मार्केटिङको काम गर्दै आएका थिए । बाढी आउँदा भाइ कहाँ थिए भन्ने यकिन नभएको उनले बताए ।
‘बाढी आएको खबरपछि नम्बरमा पनि सम्पर्क हुन सकेन’, उनले थपे, ‘म्यासेन्जर, ह्वाट्सएप केहीमा सम्पर्क भएन । खोजीका लागि आग्रह गरिरहेका छौँ ।’ उनको अवस्थाबारे कुनै जानकारी नहुँदा परिवारका सदस्य पीडामा छन् ।
जीवनको दाहिने हातमा ट्याटु रहेको जगनले जानकारी दिए । उनले ‘माई सिस्टर अनिशा’ भनेर ट्याटु हानेका छन् । उनको परिवारले सरोकारवाला निकाय, सुरक्षा निकाय, स्थानीय तह, उद्धार टोलीलाई खोजी तथा उद्धारका लागि अपिल गरेको छ ।

संगालोखबर 














