
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ स्थित कप्तानगन्जमा भएको घटनाको विरोधमा आज विराटनगर बजार बन्द गरिएको छ । बजार बन्द गर्नुअघि शान्तिपूर्ण प्रदर्शन भएको थियो ।
आइतबार राति दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि विभिन्न स्थानमा निरन्तर प्रदर्शन भइरहेका छन् । झडपका क्रममा ९ जना घाइते भएका छन् । उनीहरूको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

विराटनगरमा हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन बजारका विभिन्न भागको परिक्रमा गर्दै पुनः हनुमान मन्दिरमै आएर कोणसभामा परिणत भएको छ । उनीहरूले प्रदर्शनका क्रममा व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेका थिए ।

आन्दोलनरत पक्षले विराटनगरको बुधहाट चोकमा आज दिउँसो ४ बजे श्रद्धाञ्जली सभाको आयोजना गर्ने जनाएको छ । आज विराटनगरका आधिकांश विद्यालयहरू पनि बन्द गरिएको छ ।
आन्दोलनलाई मध्यनजर गर्दै विराटनगरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बजारक्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।









तस्बिर : मोहन ढकाल/संगालोखबर

मोहन ढकाल/संगालोखबर 

















