संगालोखबर


धनकुटा । मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालले विवादित जग्गा फिर्ता गरेका छन् । ज्येष्ठ नागरिकलाई प्रलोभनमा पारेर आफ्नो नाममा राजीनामा पास गराएको आरोप लागेका उनले प्रशासनमा भएको छलफलपश्चात जग्गा फिर्ता गरेका हुन् ।

धनकुटा नगरपालिका-४ स्थित स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको करिब एक रोपनी दुई आना घडेरी कटुवालले आफ्नो नाममा राजीनामा पास गरेको आरोप लागेको थियो । सोही विषयलाई लिएर महेश रायले जिल्ला प्रशासन कार्यालय धनकुटामा उजुरीसमेत दिएका थिए ।

Advertisement

उजुरीपछि प्रशासनले दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो । छलफलपछि जग्गा परिवारकै नाममा फिर्ता गर्ने सहमति भएको र शुक्रबार कटुवालले उक्त जग्गा महेश रायका नाममा नामसारी गरिदिएका छन् ।

रायका अनुसार कटुवालले सुरुमा ६ लाख ७५ हजार रुपैयाँ दिए मात्रै जग्गा फिर्ता गर्ने अडान राखेका थिए । आफू काठमाडौं फर्किनुपर्ने बाध्यता र लामो कानुनी प्रक्रियामा जान नसक्ने अवस्थाका कारण दुई लाख रुपैयाँमा सहमतिमा पुग्नुपरेको रायको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले दुवै पक्षबीच सहमति भएपछि विवाद समाधान गराइएको बताइन् । उनका अनुसार यदि पक्षहरू सहमतिमा नआएको भए आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीमा पठाइने अवस्था थियो ।

विवादित जग्गा प्रकरणमा कटुवालले ज्येष्ठ नागरिकबाट जग्गा लिएको स्वीकार गरे पनि आफूले गैरकानुनी काम नगरेको दाबी गरेका छन् । प्रशासनमा भएको छलफलपछि रकम सम्बन्धी सहमति बनेसँगै जग्गा फिर्ता गरिएको हो ।

धनकुटामा ४० लाखको घडेरी ४० हजारमा पास, लेखापढी व्यवसायीविरुद्ध प्रशासनमा उजुरी

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!