संगालोखबर

धनकुटा । धनकुटामा करिब ४० लाख रुपैयाँ पर्ने घडेरी एक लेखापढी व्यवसायीले ४० हजार रुपैयाँमा राजीनामा पास गराएको आरोपमा बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

Advertisement

विराटनगर महानगरपालिका-४ का ४४ वर्षीय महेश रायले मालपोत कार्यालय धनकुटाका लेखापढी व्यवसायी पुष्पराज कटुवालविरुद्ध उजुरी दिएका हुन् । उनले कटुवालमाथि छानबिन र कानुनी कारबाहीको माग गरेका छन् ।

निवेदन अनुसार, धेरै वर्षदेखि मालपोत नतिरेको र नातागोता कोही नभएका व्यक्तिको जमिन रहेको थाहा पाएर कटुवालले चलाखी गरेका हुन् । उनले महेशका बडाबाबु स्वर्गीय कुबेरबहादुर राय क्षेत्रीको नाममा रहेको धनकुटा नगरपालिका-४ स्थित करिब एक रोपनी दुई आना घडेरी आफ्नो नाममा राजीनामा पास गराएका थिए ।

धनकुटा छाडेर २० वर्षदेखि मोरङ बयरवनमा आफन्तकोमा बस्दै आएका ७० वर्षीय बिरामी क्षेत्रीको खोजी गर्दै मोरङ पुगेका कटुवालले उनलाई ज्येष्ठ नागरिक परिचयपत्र र हराएको नागरिकता बनाइदिने बहानामा धनकुटा ल्याएको खुलेको छ ।

जीवित छँदै २०८१ पुस १७ गते जग्गाको थैली ६ लाख ७५ हजार उल्लेख गरी ४० हजार रुपैयाँ दिएर कटुवालले जग्गा जिम्मा लिएको निवेदनमा उल्लेख छ । सो रकममध्ये क्षेत्रीको गोजीमा झण्डै दुई वर्षपछि मृत्यु हुँदा समेत २० हजार रुपैयाँ बाँकी भेटिएको थियो ।

जग्गा नामसारी गराउने क्रममा कटुवालले वृद्धलाई मादक पदार्थ समेत खुवाएर अशिक्षित र वृद्ध अवस्थाको फाइदा उठाई जालसाजीपूर्वक जग्गा आफ्नो नाममा गराएको भतिजा महेशको दाबी छ । बडाबाबुको क्रियाकर्म सकेर जग्गा खोज्दै धनकुटा पुगेका महेशले उक्त रकम फिर्ता गरी जग्गा आफ्नो परिवारकै नाममा फिर्ता हुनुपर्ने माग गर्दै प्रशासन पुगेका थिए । 

व्यवसायी कटुवालले ज्येष्ठ नागरिकबाट जग्गा लिएको स्वीकार गरे पनि आफूले कुनै गैरकानुनी कार्य नगरेको दाबी गरेका छन् । आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा दुवै पक्ष मिलेका छन् । 

‘उहाँहरू मिलेर नै अघि बढ्ने सहमति भयो । त्यही अनुसार नै उहाँहरूको मिलापत्र भयो’, धनकुटाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले संगालोखबरसँग भनिन्, ‘उहाँहरू न्यूनतम मूल्यमा सहमति भएर निक्लिनुभयो ।’  

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!