
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-५ अमाहीबेल्हा की ७३ वर्षीया वृद्धा सुगियादेवि मेहता असार २३ गते मंगलबार बिहान ११ बजे आफ्नो खेतमा पुग्छिन् । आफ्नो जग्गामा देवरले धान रोप्ने तयारी थालेपछी त्यसो नगरिदिन आग्रह गर्दै त्यहाँ पुगेकी उनीमाथि निर्घात कुटपिट हुन्छ ।
उनलाई देवर गोविन्द मेहता र गोविन्दका दुई छोरा रूपेश र सञ्जितले निर्घात कुटपिट गर्छन् । उनले त्यसको प्रतिकार गर्न सकिनन् । कुटपिटबाट उनी शक्त घाइते भइन् । कुटपिट गर्दै गरेको देखेका छिमेकीले प्रहरी बोलाइदिने भनेपछि आरोपितहरू सुगियादेविलाई बेहोस अवस्थामा छाडेर भागेका थिए । विराटनगरको प्राइम अस्पतालमा १२ दिन उपचार गराएर शनिबार डिस्चार्ज भएपछि उनलाई घर लगिएको छ ।
‘यो हाम्रो जग्गा हो, नजोत्नुस् भनी प्रतिवाद गर्दा उनीहरूले कपाल तानेर घिसार्दै लडाएर कोदालोले प्रहार गरे’, पीडित मेहताले चोटपटक देखाउँदै भनिन्, ‘हातका औँलामा स्टिल लगाएको छ । ढाड, पाखुरा, हात र शरीरको अन्य भागमा गहिरो चोट छ ।’
लामो समय अस्पताल बस्नु परेका कारण धान रोप्न समेत नपाएको पीडितकी बुहारी गुल्टेनदेवि मेहताले बताइन् । घटना लगत्तै पीडित परिवारले इलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिएका छन् । तर प्रहरीले निवेदनमाथि खासै चासो नदेखाएको पीडितका छोरा उमेश मेहताले गुनासो गरे ।

‘अस्पतालमा लामो समयसम्म आमालाई राख्दा २ लाख २० हजार बढी खर्च भयो’, उनले भने, ‘ऋण खोजेर जसोतसो अस्पतालको खर्च बुझाइयो । हाम्रो आवाज कसैले सुनेको जस्तो लाग्दैन । जनप्रतिनिधि र प्रहरीले पनि हाम्रो कुरामा ध्यान दिएका छैनन् ।’
१६ धुर जग्गा उमेशको नाममा छ । पैतृक सम्पत्ति भागबन्डा भएर आफूहरूले पाएको भएपनि काकाले उक्त जग्गामा आफैँ रजाइँ गर्न खोजेको उनले बताए । विगतमा पनि जग्गाको विषयमा समाजमा छलफल भएको उनको भनाइ छ ।
काका गोविन्द लेखनदास (लेखापढी) को काम गर्ने भएकाले सबैलाई उनले प्रभावमा पारेको हुनसक्ने उनले बताए । जसका कारण आफूहरू आवाज कसैले नसुनेको उनको गुनासो छ । उमेशका अनुसार सो जग्गामा गोविन्दको परिवारले नै धान रोपिसकेको छ ।

बर्जु-५ का वडाध्यक्ष अजय कुमार चौधरीले मेहतामाथि कुटपिट भएको भन्ने सुनेको बताए । त्यो बाहेक आफूलाई घटनाका विषयमा जानकारी नभएको सुनाउँदै उनले अन्य विषय थाहा नभएको प्रतिक्रिया दिए ।
‘मिलेर जानुपर्छ भन्ने हामी जनप्रतिनिधिको धारणा हो’, उनले भने, ‘प्रहरीमा उजुरी दिनुभएको होला । मैले बुझ्न पनि पाएको छैन । विगतमा छलफल भए-नभएको त बिर्सिए ।’ इलाका प्रहरी कार्यालय दुहबीले यस्ता घटना धेरै हुने गरेकाले सबै कुरा याद नभएको जनाएको छ ।

पीडित परिवारले ‘घाउ जाँच केश फारम गरी आवश्यक कारबाही गरी पाउँ’ असार २५ गते इलाका प्रहरी कार्यालयमा निवेदन दिएको थियो । तर प्रहरीले अहिलेसम्म यस विषयमा कुनै चासो नदेखाएको पीडित परिवारको भनाइ छ ।
‘निवेदन दुहबीमा दिएको छ भने बुझ्नुपर्छ । इन्स्पेक्टर साप बाहिर जानुभएको छ । उहाँलाई घटना बारेमा थाहा हुनसक्छ’, एक प्रहरीले भने । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले घटनाका बारेमा बुझ्ने जानकारी दिए ।

मोहन ढकाल/संगालोखबर 



















