
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-८ स्थित कोशी माध्यमिक विद्यालयका प्रधानाध्यापक विद्यालय समय र पोशाकमै रक्सी भट्टीमा भेटिएका छन् । सोमबार दिउँसो २ः२१ बजे बराहक्षेत्र-३ बीचपानेको एक होटलमा रक्सी पिउँदै गरेको अवस्थामा प्रधानाध्यापक बालकृष्ण अधिकारीलाई अभिभावकले भेटेका हुन् ।
एक अभिभावकले रक्सी खाँदै गरेको भिडियो बनाएपछि प्रधानाध्यापक अधिकारी होटलबाट बाहिर निक्लिएर मोटरसाइकल स्टार्ट गरेर हिँडेका थिए । संगालोखबरलाई प्राप्त भिडियोमा उनले विद्यालय पोशाकमै रक्सी खाइरहेको देखिन्छ । प्राप्त भिडियोमा उनलाई अभिभावकहरूले प्रश्न गरेका छन् । तर उनी कुनै प्रतिक्रिया नदिई चुपचाप हिँडेका थिए ।
उनीमाथि विद्यालयमा पनि रक्सी खाएर आउने गरेको आरोप अभिभावकहरूले लगाएका छन् । विद्यालयजस्तो पवित्र स्थलमा रक्सी खाएर आउने, पद र शक्तिको दुरुपयोग गरी पठन-पाठनमा पनि समस्या ल्याएको भन्दै अभिभावकहरूले प्रधानाध्यापक अधिकारीमाथि कारबाहीको माग गर्दै नगरपालिकाको शिक्षा शाखामा निवेदन दिएका छन् ।
उनलाई नैतिक आचरण खराब भएको प्रअको संज्ञा दिँदै अभिभावकहरूले विद्यालयमा भएको ‘ब्याड टच’ जस्ता गम्भीर क्रियाकलापहरू ढाकछोप गरेको आरोप पनि लगाएका छन् ।

‘विद्यालयमा १२ गते सिसी क्यामेरा फुटेज हेरेर उनलाई प्रअबाट हटाउन अनुरोध गर्दछौँ’, अभिभावकले शिक्षा शाखामा बुझाएको निवेदनमा भनिएको छ’, ‘शिक्षा ऐन तथा नियमावली तथा नेपालको प्रचलित कानुन अनुसार तत्काल कारबाहीको माग गर्दछौँ ।’
विद्यालयका सूचना अधिकारी र सहायक प्रधानाध्यापकले १२ गतेको शिक्षक हाजिरी खाता समेत हेर्न नदिएको अभिभावकको गुनासो छ । यस्तै उनीहरूले अंग्रेजी विषयका शिक्षक बालकृष्ण बोहोराको काज फिर्ता गरी पठन-पाठन सहज बनाइदिन निवेदनमा भनेका छन् ।
काज सरुवामा परेका बोहोराले पनि शिक्षा शाखामा निवेदन दिँदै प्रअ अधिकारीलाई कारबाहीको माग गरेका छन् । उनले आफूलाई प्रअले नियम विपरित पदको दुरुपयोग गर्दै शिक्षा ऐन र नियमावली विपरित प्रतिशोधपूर्ण ढङ्गले कुनै स्पष्टीकरण नसोधी काज सरुवा गरेको उल्लेख गरेका छन् ।
उनले प्रअले माघ महिनाको हाजिर १२ गते ४ बजेसम्म पनि नगरेको तथा विद्यालयमा आएर केही समयमै हिड्ने गरेको बताएका छन् ।

‘प्रअ अधिकारीमाथि शिक्षा ऐन २०२८ संशोधनसहितको दफा १६ ‘ङ’ उपदफा ५ तथा शिक्षा नियमावली २०५९ संशोधनसहितको नियम १३८ उपनियम १ र नियम १४१ को उपनियम १ बमोजिम तथा नेपाल सरकारको प्रचलित कानुन अनुसार तत्काल कारबाहीको माग गर्दछु’, निवेदनमा भनिएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख उत्तमराज भारतीले यस विषयमा आफूलाई जानकारी नभएको बताए । ‘म बिदामा छु । निवेदन आएको विषयमा मलाई जानकारी छैन’, उनले संगालोखबरसँग भने, ‘बाहिर भएकाले घटनाका विषयमा पनि राम्ररी बुझ्न पाएको छैन ।’
प्रधानाध्यापक अधिकारीलाई बारम्बार टेलिफोन सम्पर्क गर्दा पनि फोन उठाएनन् । उनका आफन्तले एक पटक फोन उठाएपनि अधिकारी बाहिर भएको जानकारी गराएका थिए । त्यसपछि भने उनी सम्पर्कमा आउन चाहेनन् ।

मोहन ढकाल/संगालोखबर 













