
विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीबाट योजनाबद्ध तरिकाले ट्रान्सफर्मर चोरी गर्ने गिरोह पक्राउ परेको छ । प्रादेशिक अपराध अनुसन्धान समूहको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रदेश प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन मार्फत चोरीमा संलग्न भएका र चोरीको सामान किनेको आरोपमा पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छ । ट्रान्सफर्मर चोरी गर्ने गिरोहमा मोरङको ग्रामथान गाउँपालिका-४ का ४२ वर्षीय अर्जुनकुमार माझी (चौधरी), वडा नम्बर ५ सिमरिया टोलका ३१ वर्षीय इरज धामी र सुनसरीको दुहबी नगरपालिका-३ लविपुरका ३५ वर्षीय अनुज विश्वास छन् ।
यस्तै बेलबारी नगरपालिका-४ कसेनीका २६ वर्षीय अर्जुन चौधरी, भातर घर भई दुहबी-४ ससुरालीमा बस्दै आएका ३४ वर्षीय आलम मिया, बेलबारी-३ का २७ वर्षीय रञ्जित तामाङ र दुहबी-२ का ३९ वर्षीय प्रयाग कुमार खाँ चौधरी छन् । उनीहरूलाई प्रहरीले विभिन्न समयमा फरक-फरक स्थानबाट पक्राउ गरेको हो ।
यस्तै चोरीको सामान किन्नेहरूमा विराटनगर-३ का ५३ वर्षीय लक्ष्य प्रधान, विराटनगर-६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, दुहबी-३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी-२ का ३१ वर्षीय कपिल भट्ट र इटहरी-४ का ३९ वर्षीय सिताराम राई छन् ।
गत माघ १५ गतेदेखि शृङ्खलाबद्ध रूपमा ट्रान्सफर्मर चोरीका घटना भइरहेका थिए । जसमा सबैभन्दा बढी सुनसरीबाट १२ वटा ट्रान्सफर्मर चोरी भएका छन् भने मोरङबाट ८ र झापाबाट २ वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
कोशी प्रदेश प्रहरी प्रमुख डीआइजी ईश्वर कार्कीका अनुसार साउन ९ गते पहिलोपटक ग्रामथानबाट ट्रान्सफर्मरमा चढिरहेको अवस्थामा ४२ वर्षीय अर्जुनलाई नियन्त्रणमा लिइएको थियो । ‘हामीले विशेष अनुसन्धान गर्दै जाँदा गिरोह नै पक्राउ गर्न सफल भएका छौं’, डीआइजी कार्कीले भने, ‘चोरहरू एकदमै विज्ञ रहेछन् । करेन्ट प्रवाह भइरहेको अवस्थामा पनि ट्रान्सफर्मर चोरी गरेका पाइयो ।’
पक्राउ परेकामध्येबाट केही पहिला पनि चोरीको घटनामा मुछिएको पाइएको डीआइजी कार्कीले जानकारी दिए । कार्कीका अनुसार चोरी भएको ट्रान्सफर्मरको मूल्य दुई करोड बढी हुन आउँछ ।
प्रहरीले चोरीमा प्रयोग भएका औजारसँगै ५ वटा मोटरसाइकल र एउटा पिकअप गाडी तथा १२ थान मोबाइल बरामद गरेको छ । औजारमा विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्व ३, पिलास ३, पेचकस ३, छिनो १, साङ्ली १, कैँची १ र ह्याक्सो ब्लेड ३, खन्ती १, इलेक्ट्रिक ग्रेडर १ र झम्पल १ थान छन् ।
यस्तै प्रदेश १-०२-०५० प ७०९५, प्रदेश १-०२-०५६ प ५५८०, को २ प ९२९०, प्रदेश १-०२-०५० प ३०४९ र को २९ प ४५४४ नम्बरको मोटरसाइकल र को १ च ७७२९ नम्बरको पिकअप बरामद गरिएको पत्रकार सम्मेलनमा डीआइजी कार्कीले जानकारी दिए ।
डीआइजी कार्कीका अनुसार ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार ३ सय ६८.५ किलो विभिन्न स्थानबाट बरामद भएको छ । गिरोह नै पक्राउ गरेपछि ट्रान्सफर्मर चोरीका घटना शून्य भएका डीआइजी कार्कीले उल्लेख गरे । अनुसन्धानका क्रममा उनीहरूले विभिन्न समूहमा विभाजन भएर ट्रान्सफर्मर चोरी गर्दै आएको खुलेको डीआइजी कार्कीको भनाइ छ ।

मोहन ढकाल/संगालोखबर 













