
विराटनगर । भारतमा एउटा अचम्मलाग्दो घटना भएको छ । जुन सुन्दा पत्यार नलाग्न पनि सक्छ । तर यो यथार्थ घटना हो । बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा एक वर्षका बालकले सर्पलाई टोकेर मारेका छन् ।
यो अनौठो घटना मझौलिया ब्लकको मोहछी बनकटवा गाउँको हो । एक वर्षीय गोविन्द कुमारले विषालु कोब्रा सर्पलाई दाँतले टोकेर मारेका छन् । यो घटनाले गाउँले र डाक्टरलाई पनि आश्चर्यचकित बनाएको छ ।
परिवारका अनुसार बच्चा घरमा खेलिरहेका बेला सर्प आएको थियो । यसै क्रममा उनले अचानक सर्पलाई समाते र दाँतले टोकेका थिए । उनकी हजुरआमाका अनुसार सर्प मरेपछि बालक पनि बेहोस भएका थिए ।
उनलाई परिवारले नजिकैको स्वास्थ्य संस्थामा लगेपनि त्यहाँबाट बेतियाको सरकारी मेडिकल कलेजमा रिफर गरिएको थियो । डाक्टरहरूले उनको अवस्थालाई नजिकबाट निगरानी गरिरहेका छन् ।
अहिलेसम्म बच्चाको अवस्था स्थिर रहेको उपचारमा संलग्न डाक्टरहरूले बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

संगालोखबर 













