
विराटनगर । समयमा वर्षा नहुँदा कोशी प्रदेशमा गतवर्षको तुलनामा कम रोपाइँ भएको छ । गतवर्ष यही अवधिमा ३४.४३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष २९.५४ प्रतिशत मात्रै रोपाइँ भएको छ ।
कृषि विकास निर्देशनालयका अनुसार कुल धानखेती हुने क्षेत्रफलमध्ये उच्च पहाडी क्षेत्रमा २५.५०, मध्य पहाडी क्षेत्रमा ४१.८७ र तराइ क्षेत्रमा २५.५४ प्रतिशत रोपाइँ भएको छ । कोशीमा २ लाख ७६ हजार ३ सय ८६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये ८१ हजार ६ सय ३४ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार कोशीका १४ जिल्लामध्ये सबैभन्दा बढी पाँचथरमा ५९ प्रतिशत रोपाइँ भएको छ भने भोजपुरमा ५८ र खोटाङमा ५६.९८ प्रतिशत रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार पाँचथरमा कुल खेतीयोग्य जमिनमध्ये ५ हजार ८ सय ४८.९६, भोजपुरमा १२ हजार ५०.८१ र खोटाङमा १० हजार १८.०९ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।
यस्तै ताप्लेजुङमा ५ हजार ६ सय ६६.३३ हेक्टर क्षेत्रफलमध्ये २७.४३, संखुवासभामा ८ हजार ४ सय ९२.६३ हेक्टर क्षेत्रफलमध्ये २४ र सोलुखुम्बुमा १ हजार २ सय २५ हेक्टर क्षेत्रफलमध्ये २६.९३ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
इलाममा ११ हजार ६२.६४ हेक्टर क्षेत्रफलमध्ये ३०, तेह्रथुममा ६ हजार ६ सय १५.१५ हेक्टर क्षेत्रफलमध्ये ३३, धनकुटामा ४ हजार ९ सय ३८.८९ हेक्टर क्षेत्रफलमध्ये १७, उदयपुरमा १३ हजार ३ सय ८०.०४६ हेक्टर क्षेत्रफलमध्ये ३१.६२ प्रतिशत रोपाइँ भएको छ ।
यसैगरी ओखलढुङ्गामा ३ हजार ८ सय ३ हेक्टर क्षेत्रफलमध्ये ४२.८८, झापामा ७५ हजार ४ सय ५९.१८ हेक्टर क्षेत्रफलमध्ये २१, मोरङमा ६९ हजार ८ सय १७ हेक्टर क्षेत्रफलमध्ये ३१.५० र सुनसरीमा ४८ हजार ९ हेक्टर क्षेत्रफलमध्ये २४ प्रतिशत रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
पानी कम परेका कारण गतवर्षको तुलनामा यस वर्ष रोपाइँ कम भएको निर्देशनालयका बागवानी विकास अधिकृत तथा सूचना अधिकारी पूर्णमाया गुरुङले जानकारी दिइन् ।

मोहन ढकाल/संगालोखबर 













