विराटनगर । स्थानीय तहहरूले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट असार १० गते पेस गरिसक्नुपर्ने प्रावधान छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले यो प्रावधान लागू गरेको हो ।
तर देशकै चर्चित दुई मेयर बालेन शाह र हर्क साम्पाङले असार १२ गते भइसक्दा पनि नीति कार्यक्रम तथा बजेट पेस गर्न सकेका छैनन् । जसका कारण चौतर्फी आलोचनासँगै विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् ।
यतिसम्मकी स्वतन्त्र उम्मेदवारी दिँदै दुबै जनाको चर्चा चुलिएको थियो भने निर्वाचित भइसकेपछि त थप वाहवाही बटुलेका थिए । सामाजिक संजालमा बेला-बेलामा आउने स्टाटसले दुबै मेयर विरोध र समर्थनको घेरामा पर्ने गरेका छन् । जसमा सबैभन्दा अघि धरानका मेयर हर्क नै छन् ।
यत्तिमात्र नभएर उनीहरूको कार्यशैलीले पनि वाहवाही पाएको थियो । उनीहरूले सुरुवात गरेको कामबाटै अन्यत्रका जनप्रतिनिधिलाई पनि झक्झक्याउने काम भए । तर यसरी चर्चा बटुलेका तथा जनताले आश र भरोसाका केन्द्र मानेका भनिएका उनीहरूले किन समयमा नीति कार्यक्रम तथा बजेट पेस गर्न सकेनन् ? भन्ने प्रश्नले अहिले स्थान पाएको छ ।
दुई आर्थिक वर्षमा भने उनीहरूले समयमा नै बजेट ल्याउन सकेका थिए । तर यसपटक भने आन्तरिक द्वन्द्वलगायतको कारणले उनीहरूले बजेट ल्याउन नसकेका हुन् । केही समय अघिदेखिको उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवाद पनि यसको मुख्य कारण हो ।
धरानमा पनि समयमा बजट पेस हुन नसक्नुको मुख्य कारण मेयर हर्क र उपमेयर आइन्द्रविक्रम बेधाबीचको विवाद नै हो । यस्तै मेयरले बोलाएको कार्यपालिका बैठक हुन नसक्नु र पुनः बैठक बस्न नसक्नु पनि अर्को कारण हो । यो अवस्था विवादले नै निम्त्याएको हुँदा बैठक बस्न सकिरहेको छैन ।
समयमै बजेट पेस गर्न नसकेको सन्दर्भमा धरान उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर भट्टराईले भने, ‘नतृत्वकै कमजोरीका कारण बजेट आउन ढिलो भएको हो ।’ कहिले बजेट आउँछ यकिन भन्न नसकिने उनको भनाइ थियो ।
‘नेतृत्वले जति छिटो पहल गर्नुहुन्छ, त्यति नै छिटो बजेट आउँछ’, उनले संगालोखबरसँग भने, ‘तर अहिलेसम्म उहाँले कुनै पहलकदमी गर्नुभएको छैन । मेयर र उपमेयरबीचको विवादका कारणले मात्र पनि बजेट आउन नसकेको भने हैन । तर उहाँले बजेटका लागि छलफल नै गर्न सक्नुभएको छैन ।’
उता काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले चाँडै बजेट पेस हुने बताए । ‘छलफल पुगेन, छलफल नपुगेपछि बजेट आउन सकेन’, उनले संगालोखबरसँग भने, ‘बजेट ल्याउने विषयमा तयारी भइरहेको छ । बजेट तत्कालै ल्याउनुपर्ने छ ।’
बजेट ल्याउनका लागि नेपाली काँग्रेसले नेतृत्व गर्ने उनको भनाइ छ । ‘समयमा नै बजेट नआउनु नेतृत्वको कमजोरी हो’, उनले थपे, ‘अब नेपाली काँग्रेसको कार्यपालिका सदस्य, नगरसभा सदस्यले अग्र भूमिका निर्वाह गर्छ । अनि बजेट आउँछ ।’ उनले जसरी भएपनि केहीदिनमा बजेट ल्याएरै छाड्ने दाबी गरे ।
काठमाडौंका ३२ वडामध्ये सबैभन्दा बढी १८ वडामा काँग्रेस र १२ वडामा नेकपा एमालेले नेतृत्व गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक/एक वडाको नेतृत्व गरिरहेका छन् ।
धरान उपमहानगरमा जम्मा २० वडा छन् । जसमध्ये एमालेले १० र कांग्रेसले सात वडाको नेतृत्व गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई र नेकपा (माओवादी केन्द्र)ले एक वडाको नेतृत्व गरिरहेका छन् ।