संगालोखबर


विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-२ घर भएकी ३४ वर्षीया चुनकुमारी बुढाथोकीको हत्या पतिकै योजनामा भएको खुलेको छ ।

गत चैत २५ गते सुनसरीको धरान-६ पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी उनको हत्या कोरियामा बस्दै आएका पतिको योजनामा भएको खुलेको हो ।

Advertisement

हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धराने बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

चुनकुमारीकै पति ३१ वर्षीय प्रेमबहादुर बुढाथोकी, चुनकुमारीका देवर मोरङको पथरीशनिश्चरे नगरपालिका-३ बस्दै आएका २९ वर्षीय ढकेन्द्र बुढाथोकी, ढकेन्द्रकी पत्नी २५ वर्षीया सृष्टि बुढाथोकी, पाँचथरको मिक्लाजुङ गाउँपालिका-७ लुमाङदिङ घर भइ मोरङको उर्लाबारी नगरपालिका-५ फागु टोलमा बस्दै आएका ३६ वर्षीय योगेन्द्र गौतम, योगेन्द्रकी पत्नी २८ वर्षीया डेनु गौतम र मोरङको पथरीशनिश्चरे-३ का ४० वर्षीय केशवराज दाहाल पक्राउ परेका छन् ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार हत्यामा संलग्नमध्ये भारतीय नागरिक ३५ वर्षीय राजु थापामगर फरार छन् । उनको खोजी भइरहेको जनाइएको छ ।

सुरुमा टाउकोलगायत शरीरका विभिन्न भागमा प्रहार गरेपछि अन्तिममा रुखको आड लगाएर घाँटी कसेर चुनकुमारीको हत्या गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।

तिम्सिनाका अनुसार परिवारसँग समन्वय गरी कोरियाबाट नेपाल झिकाएर चुनकुमारीका पतिलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरी सुनसरी ल्याएको हो । धनकुटाको महालक्ष्मी नगरपालिका-१ माइती भएकी चुनकुमारी र प्रेमबहादुरबीच करिब १५ वर्षअघि बिहे भएको थियो ।

चुनकुमारी पछिल्लो २ वर्षयता १३ वर्षीय छोरासहित सुनसरीको इटहरी-२ हलगडामा बस्दै आएकी थिइन् । चुनकुमारी र प्रेमबहादुरबीच सम्बन्ध राम्रो नरहेको खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूका सम्बन्धमा आज नै म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार-

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!