विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले केही मान्छेलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चैत २५ गते जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीया चुनकुमारी बुढाथोकीको बिहीबार पहिचान खुलेको थियो ।
‘अनुसन्धान जारी छ । अहिलेसम्म केही खुलेको छैन’, इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जवेगुले संगालोखबरसँग भने, ‘अनुसन्धानका क्रममा सोधपुछका लागि केही मान्छेलाई बोलाएका हौँ ।’
अहिलेसम्म उनीहरूको संलग्नता छ या छैन भनेर पुष्टि भइनसकेको उनको भनाइ छ । अनुसन्धानकै क्रममा रहेकाले बाँकी कुरा विस्तारै खुल्ने उनले बताए । ‘म आफैँ अनुसन्धानमा खटेको छु’, उनले थपे, ‘अन्य आएका कुरा भ्रम हुन् । हत्यामा संलग्न परिवारकै सदस्य हुन या अरु हुन अनुसन्धानबाट खुल्छ ।’
सोधपुछका लागि बोलाइएका मान्छे परिवार भित्रका हुन या बाहिरका भन्ने बारे उनले खुलाएनन् । प्रहरीका अनुसार मृतकका पति प्रेमबहादुर बुढाथोकी कोरियामा छन् । चुनकुमारी र प्रेमबहादुरबीच करिब १६ वर्षअघि विवाह भएको थियो । प्रहरीका अनुसार चुनकुमारी करिब दुई वर्षदेखि १४ वर्षीय छोरासँग इटहरीमा डेरा गरेर बस्दै आएकी थिइन् ।