विराटनगर । चैत महिनामा मात्रै विराटनगरबाट ११ वटा मोटरसाइकल चोरी भएका छन् । मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर-१७ का १७ वर्षीय सोयल आलम र सोही स्थानका २४ वर्षीय मो. नौसाद अन्सारी रहेका छन् । उनीहरूलाई आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगर-७ अस्पताल चोकमा पार्किङ गरेर राखेको कटहरी-१ का दुलाचन्द पोद्दारको प्र १-०२-०४१ प ०३४० नम्बरको मोटरसाइकल चोरी गरेर लैजाँदै गरेको अवस्थामा मंगलबार उनीहरूलाई पक्राउ गरिएको हो ।
उनीहरू पक्राउ परेसँगै एउटा स्कुटर अन्य चार वटा मोटरसाइकल पनि भारतको टिकुलिया क्षेत्रमा फेला पारेर ल्याइएको डीएसपी जोशीले बताए ।
‘गत मंसिरमा मोटरसाइकल चोरी गर्ने गिरोहका नाइके नजाम अंसारीलाई पक्राउ गरेपछि मोटरसाइकल चोरीका घटनाहरू ठप्प जस्तै थिए’, मोरङ प्रहरीका प्रमुख एसपी नारायण प्रसाद चिमरीयाले भने, ‘चैतबाट पुनः मोटरसाइकलका घटना बढेपछि प्रहरी सक्रियता बढाउनुका साथै सम्भावित स्थानहरूमा विशेष निगरानी गर्दै आएका थियौँ । सोही आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भइयो ।’

चैतमा ११ वटा मोटरसाइकल चोरी भएपनि ६ वटा मात्रै फेला परेका छन् । प्रहरीका अनुसार प्रदेश १-०२-०४१ प ३४०, को ३ प ९७९५, ज ३ प ७४९८, मे ५ प ६६९२ नम्बर र नम्बर नखुलेको स्कुटर र अपाच्य बाइक फेला परेका छन् ।
पक्राउ परेका दुई जनाको साथबाट मोटरसाइकल चोरीमा प्रयोग हुने ‘मास्टर चाबी’ एक थान र मोबाइल एक थान बरामद गरिएको डीएसपी जोशीको भनाइ छ । प्रहरीले मोटरसाइकल हराएको विभिन्न स्थानको सिसिटिभी फुटेज विश्लेषण गर्दा एउटै अनुहार भएका मानिसहरू देखिएपछि उनीहरूको खोजी सुरु गरेको थियो । सोही क्रममा उनीहरूलाई जोगबनी एरियाबाट पक्राउ गरिएको जोशीले जानकारी दिए ।
उनीहरूले विशेष गरेर अस्पताल, होटल, जिल्ला अदालत, मालपोत कार्यालयको पार्किङ स्थल तथा अन्य सुनसान स्थानबाट मोटरसाइकल चोरी गर्ने गरेको खुलेको छ । यस्तै सफारीमा आएर मोटरसाइलक चोरी गरेर दुई छुट्टाछुट्टै मोटरसाइकलमा जाने गरेको पाइएको डीएसपी जोशीले जानकारी दिए ।
उनीहरू नेपाली नागरिक भएपनि भारतमा बस्ने गरेको र दुबै देशको सिमकार्ड प्रयोग गर्ने गरेको खुलेको छ । उनीहरूले मध्याह्न १२ बजेदेखि साँझसम्म मौका हेरेर मोटरसाइकल चोरी गर्दै आएका थिए ।
प्रहरीका अनुसार सबैभन्दा बढी सुपर स्पेलेण्डर, होन्डा साइन, एफजेट र डिस्कभर मोटरसाइकल चोरी भएका छन् । उनीहरूले नेपालबाट मोटरसाइकल चोरी गरेर भारत लग्ने र सस्तो मूल्यमा बिक्री गर्ने गरेको खुलेको छ ।
साउनदेखि हालसम्म ७१ वटा मोटरसाइकल चोरी
प्रहरीको तथ्याङ्क अनुसार मोरङमा साउन महिनादेखि हालसम्म ७१ वटा मोटरसाइकल चोरी भएका छन् । जसमा १० वटा चैत महिनामा चोरी भएका हुन् । चोरी भएकामध्ये १० वटा मोटरसाइकल मात्रै फेला परेका छन् ।
प्रहरीले अनुसन्धानका क्रममा नजाम अन्सारीले गिरोह प्रयोग गरेर मोटरसाइकल चोरी गर्ने खुलेको थियो । उनले मोटरसाइकल चोरी गरेर सम्बन्धित धनीको नम्बर पत्ता लगाएर रकम माग्ने र मोटरसाइकल फिर्ता गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
अहिले उनी ‘चोरी तथा आपराधिक लाभ’ शीर्षकको मुद्धामा कारागार चलान भएका छन् । उनी कारागार चलान भएसँगै मोटरसाइकल चोरीका घटना कम भएका थिए । अहिले चोरीमा संलग्न दुई जना उनको गिरोहका नभएको डीएसपी जोशीले बताए ।
उनीहरू नै हिरोहका नाइके हुन या अरु कोही छन् भनेर अनुसन्धान भइरहेको उनको भनाइ छ । फेला परेका मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित धनीलाई बुझाइने डीएसपी जोशीले जानकारी दिए । यो भन्दा अगाडि फेला मरेका ४ वटा मोटरसाइकल सम्बन्धित धनिलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।