
विराटनगर । पाँचथरमा डढेलोमा परेर गम्भीर घाइते भएकी ४७ वर्षीया उषाकला राईको मृत्यु भएको छ । बिहीबार अपरान्ह फिदिम नगरपालिका-१३ जोबारीस्थित वनमा लागेको डढेलोमा जलेर घाइते भएकी उनको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
पाँचथरका प्रहरी प्रवक्ता इन्स्पेक्टर बिनालाल साहका अनुसार उनको सिन्धुलीमा मृत्यु भएको हो । यसअघि कुम्मायक गाउँपालिका-३ की २२ वर्षीया प्रतिमा सम्बाहाम्फेको उपचारका लागि लैजाने क्रममा निधन भएको थियो ।
घाँस काट्न गएका बेला कुम्मायक-३ ताम्राखु जङ्गलमा लागेको डढेलोमा परेर उनी गम्भीर घाइते भएकी थिइन् । उनको पनि उपचारका लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
सोही डढेलोमा जलेर घाइते भएका २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी ११ वर्षीया छोरी सिवाना सम्बाहाफे र ६० वर्षीया निरमाया सम्बाहाफेको उपचार भइरहेको छ । उनीहरू अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।