संगालोखबर

काठमाडौं । राजावादीको प्रदर्शन अराजक र हिंसात्मक बनेपछि काठमाडौंको तीनकुने क्षेत्र शुक्रबार रणभूमिमा परिणत भएको छ । प्रहरीले शान्तिपूर्ण प्रदर्शन गर्न आग्रह गरेपनि राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरुदेखि नै झडपको अवस्था सिर्जना भयो ।

Advertisement

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ लाई स्थानीय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको थियो । तर, शान्तिपूर्ण नभएर आन्दोलनले उग्र रुप लियो । राजावादी समर्थक आन्दोलनकारीले प्रदर्शनका क्रममा निजी घरमा पनि ढुङ्गामुढा, तोडफोड र आगजनी गरेका छन् । सरकारी गाडी जलाउनुका साथै सुरक्षाकर्मीको साथबाट बन्दुकसमेत खोसेका छन् । भाटभटेनीमा तोडफोडसँगै लुटपाट गरिएको छ ।

प्रहरीले आन्दोलनकारीमाथि लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । भीड नियन्त्रणमा लिन हवाइफायर पनि गरिएको छ । सुरक्षाकर्मीले बल प्रयोग गरेपछि तितरबितर भएको भिडले एकीकृत समाजवादीको कार्यालयमा आगजनी र तोडफोड गरेको छ । आन्दोलनकारी सञ्चारगृहमाथि पनि खनिएका छन् । उनीहरूले कान्तिपुर टिभीको कार्यालय र अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड गरेका छन् । अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी प्रयास पनि गरिएको छ ।

आन्दोलन उग्र र हिंसात्मक बन्दै गएपछि प्रशासनले काठमाडौंको बानेश्वर तीनकुने क्षेत्रमा कफ्‍‍र्यू आदेश जारी गरेको छ । यता, आन्दोलनको अगुवाई गरिरहेका दुर्गा प्रसाईँले प्रहरीले अवरोध गर्न खोजेकै कारण आन्दोलन उग्र बनेको आरोप लगाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!