मोहन ढकाल/संगालोखबर


विराटनगर । नवौँ विराट गोल्डकपको उपाधिका लागि आज सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र थ्री स्टार क्लब आमनेसामने हुँदैछन् । विराटनगरको सहिद रङ्गशालामा साँझ ६ः३० बजेबाट सुरु हुने फाइनलमा दुबै टोली उपाधि जित्ने दाउमा छन् ।

यो सिजन मोफसलमा भएका प्रतियोगितामा दुई टोलीबीच आजमात्रै भेट हुन लागेको हो । सिजनमा थ्री स्टार पहिलो पटक फाइनलमा पुगेको हो भने चर्च ब्वाइज आठ पटक फाइनलमा पुगेको छ ।

Advertisement

नौ खेल खेलेको चर्च ब्वाइजले आठ वटा फाइनल खेलमा स्पर्धा गर्दा तीन वटा उपाधि जितिसकेको छ । आजको खेल जितेमा चर्च ब्वाइजले यो सिजनमा चार वटा उपाधि हात पार्छ भने थ्री स्टारले उपाधिको खाता खोल्छ ।

थ्री स्टार पाँचौ संस्करणको विराट गोल्डकपको विजेता टोली हो । त्यसबेला त्रिभुवन आर्मी क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले उपाधि जितेको थियो । चर्च ब्वाइज भने पहिलो पटक विराट गोल्डकपको उपाधि जितेर इतिहास रच्ने दाउमा छ ।

मच्छिन्द्र र त्रिभुवन आर्मीलाई निराश बनाउँदै थ्री स्टार फाइनलमा प्रवेश गरेको हो । एनआरटी र नेपाल पुलिस क्लबलाई हराउँदै चर्च ब्वाइजले पहिलोपटक विराट गोल्डकपको फाइनलमा स्थान बनाएको हो ।

आजको खेलमा थ्री स्टारका कप्तान योगेश गुरुङ मैदान बाहिर नै हुने भएका छन् । दोहोरो पहेँलो कार्ड पाएका उनले आजको खेल गुमाउने भएसँगै चर्च ब्वाइजले आफूलाई थप सहज महसुस गरेको छ ।

तर, थ्री स्टारले यसलाई चुनौतीका रूपमा लिएको छैन । क्याप्टेनले खेल गुमाउँदैमा कमजोर प्रदर्शन नहुने थ्री स्टारका प्रशिक्षक गणेश खड्का बताउँछन् । चर्च ब्वाइज पनि उपाधि जित्ने दाउमा छ ।

विराट गोल्डकपमा पहिलो पटक फाइनलमा पुगेको फाइदा लिएरै छाड्ने चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ दाबी गर्छन । आजको खेल निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

फागुन १९ गतेबाट सुरु भएको प्रतियोगिता दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो ।  प्रतियोगिताको विजेताले  ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!