मोहन ढकाल/संगालोखबर
धनपालथान गाउँपालिका-५ बबिया टोलमा निर्माणधिन १५ शैय्याको अस्पताल । तस्बिर : मोहन ढकाल/संगालोखबर

विराटनगर । मोरङको धनपालथान गाउँपालिका-५ बबिया टोलमा २०७८ सालमा शिलान्यास भएर निर्माण सुरु भएको अस्पतालको पुनः शिलान्यास गर्ने तयारी गरिएपछि विरोध सुरु भएको छ ।

२०८० फागुनमा सम्झौता भएर निर्माण कार्य सुरु भएको १५ शैय्याको अस्पताल निर्माणको काम एक महिनादेखि रोकेर पुनः शिलान्यास गर्ने तयारी गरिएको हो । जसका कारण जनप्रतिनिधिहरूबीचको विवाद उत्कर्षमा पुगेको छ ।

Advertisement

धनपालथान गाउँपालिका अध्यक्ष जिबछप्रसाद गच्छदारले पुनः शिलान्यास गर्ने तयारी थालेपछी वडा नम्बर ५ का वडाध्यक्ष गयानन्द सरदारले विरोध गरेका छन्  । उनले गाउँपालिका अध्यक्ष गच्छदारकै मिलेमतोमा ठेकेदारले काम रोकेको आरोप लगाएका छन् ।

अस्पताल निर्माणका लागि संघीय सरकारले १३ करोड ५९ लाख रुपैयाँ बजेट छुट्याइदिएको छ । धनपालथान-४ का कर्णबहादुर राजवंशीको परिवारले दान दिएको १५ कट्ठा जग्गामा अस्पताल निर्माण थालिएको हो ।

सम्झौता अनुसार दुई वर्षमा काम सक्नुपर्ने भएपनि अहिलेसम्म निर्माणको कामले गति लिन सकेको छैन् । तत्कालीन गाउँपालिका अध्यक्ष हरिलाल सिंह, उपाध्यक्ष नसिमा बानु र वडाध्यक्ष गयानन्द सरदारले २०७८ चैत्र १४ गते अस्पतालको शिलान्यास गरेका थिए । त्यसपछि २०८० फागुन २० गते सम्झौता भएपछि गत भदौदेखि अस्पतालको औपचारिक निर्माण कार्य सुरु भएको थियो  ।

भद्रपुरको निर्माण व्यवसायी कम्पनी बस्नेत पी एण्ड जेभिले दिएको जानकारी अनुसार हालसम्म अस्पतालको निर्माण कार्य ३० प्रतिशत सम्पन्न भइसकेको छ  । कम्पाउण्ड वाल र साढे २ तले अस्पताल भवनको बेसमेन्ट समेत तयार भइसकेको अवस्थामा दोहोरो शिलान्यासको चर्चा चल्न थालेपछी विवाद सुरु भएको हो ।

वडाध्यक्ष सरदारले गच्छदारले दोहोरो शिलान्यास गरी अस्पताल निर्माणको श्रेय आफूले लिन जनतामा भ्रम छर्ने प्रयास गरिरहेको बताए । स्थानीय बासिन्दाहरूले पनि गाउँपालिकाले दोहोरो शिलान्यास गरे प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

यस विषयमा प्रतिक्रिया दिँदै पालिका प्रमुख गच्छदारले दोहोरो शिलान्यास नगरिने बताएका छन् । ‘पालिकाकै ठूलो प्रोजेक्टको रूपमा अस्पतालको निर्माण सुरु भएकाले सामान्य पूजापाठ गर्न लागिएको हो’, उनले भने ।

तर असन्तुष्ट पक्षका अनुसार, गाउँपालिका प्रमुख गच्छदार र उपप्रमुख नसिमा बानुले निर्माण व्यवसायीलाई काम सम्पन्न गरे अनुसारको बिलको भुक्तानी दिन समेत आलटाल गरेका छन् । अनुगमन गर्न बाँकी रहेको भन्दै भुक्तानी नदिएपछि एक महिना यता काम रोकिएको निर्माण कम्पनीले जनाएको छ ।

निर्माण कम्पनी बस्नेत पी एण्ड जेभिका प्रबन्ध निर्देशक विनोद बस्नेतले भुक्तानीमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको बताए । ‘हामीले लगभग ३ करोड बराबरको काम सकेका छौं, तर अहिलेसम्म १ करोड मात्रै भुक्तानी पाएका छौं’, उनले भने, ‘पालिकाले अनुगमनमा ढिलाइ गर्दा भुक्तानी प्रक्रिया अवरुद्ध भएको छ । यस्तै अवस्था रहे तोकिएको समयमा अस्पताल निर्माण सम्पन्न गर्न कठिन हुनेछ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!