मोहन ढकाल/संगालोखबर

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनसम्बन्ध विस्तार गर्दै सुदृढ बनाउन हुलाकी मार्ग केन्द्रित तराई-मधेश जागरण अभियान सञ्चालन गरेको बताएका छन् । प्रेस सेन्टर मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले झापा र मोरङमा अभियान निक्कै उत्साहजनक भएको बताउँदै जनतामा सकारात्मक भाव पैदा भएको पाइएको उल्लेख गरे ।

Advertisement

‘मैले झापा र मोरङमा जे अनुभव गरेको छु, यो बीचमा धेरै पटक आएको पनि छु । मैले अलिकति झल्को चाँहि २०६४ को पाएको छु’, अध्यक्ष प्रचण्डले भने, ‘६४ मा माओवादी एक नम्बर पार्टी भएकै थियो नि । सहमति गरौँ भन्दा नमानेका हुन नि त एमाले लगायतका पार्टीहरूले ।’

काँग्रेस र एमालेलाई पछिल्लो चरण ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको उनले उल्लेख गरे । ‘देशको राजनीतिक आवश्यकता अनुसार समझदारीबाट जाउँ जिम्मेवारी बोधको कारणले हामीहरूले काँग्रेस र एमालेलाई ठूलो बनाएको हो’, उनले थपे, ‘उनीहरू आफैँ ठूलो भएका हैनन् । जब हामीले छाड्यौँ, उनीहरू ठूलो हुन पनि छाडे ।’

उपचुनावमा माओवादी एक नम्बर पार्टी भएको बताउँदै राष्ट्रिय राजनीतिमा कसले के भूमिका खेल्यो भनेर जनताले मूल्याङ्कन गर्न थालेको बताए । ‘जनताले अब फेरी फर्केर यो परिवर्तनको बाहक पनि माओवादी हो । पछिल्लो चरण सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा उभिने पनि माओवादीले नै काम गर्यो । काम गर्दागर्दै भ्रष्टाचारीहरूले ढलाए । जनताले बुझिसकेका छन्, ‘अध्यक्ष प्रचण्डले थपे, ‘यो प्रदेशको मात्रै कुरा हैन । अरुतिर पनि हेर्नुहोस्, काँग्रेस र एमाले दुबै मिलेर लड्दा पनि हामीले जित्यौँ ।’

२०६४ मा ठूलो दल भएको माओवादी विभाजनलगायतका कारणले २०७० को निर्वाचनमा अर्को पार्टी अगाडि आएको उनको भनाइ थियो । ‘यहाँ कहाँ स्थिरता छ ? एउटा पार्टी अगाडि भएको भयै कहिले भएको छ ?’, उनले भने, ‘त्यसकारण २०८४ मा माओवादीलाई जिताए मात्रै देशमा स्थायित्व, सुशासन हुन्छ भन्ने कुरा जनताले बुझेका छन् । अहिले जुन लहर देखिएको छ नि, त्यो बचाउन सक्यौँ भने, अब हामी भित्रै समस्या भयो भने त एउटा कुरा । तर त्यो समस्या हुनेवाला छैन । र यो लहर लिएर जाँदा हामी एक नम्बर पार्टी हुन्छौँ ।’

उनले २०८४ सम्म काँग्रेस र एमालेसँग माओवादीले चुनावी गठबन्धन नहुने समेत बताएका छन् । ‘लाखौँ जनताको अगाडि मैले भनिसके । अब पछाडि हट्ने ठाउँ नै छैन’, उनले थपे, ‘अब यो विषयमा प्रश्न गर्ने ठाउँ पनि मैले सिध्याइसकेको छु ।’

उनले फरक प्रशंगमा पूर्वराजालाई आफूले कुनै महत्व नदिएको बताए । ‘उनले बोले, मान्छेहरूले प्रतिक्रिया दिइरहेका छन् । किनभने इतिहासबाट धेरै अगाडि बढिसक्यो । जनताको चेतना, आन्दोलन, परिस्थिति धेरै अगाडि बढिसक्यो’, उनले भने, ‘कसैले उनलाई बोल्न लगाएका होलान् । आफ्नो स्वार्थ सिद्ध गर्न नजिक कसैले बोल्न लगाए पनि त्यसको कुनै अर्थ छैन । यो देशमा फेरी राजसंस्था फकिर्ने भन्ने कुरा असम्भव छ ।’

अहिलेको सरकार अस्वभाविक, अप्राकृतिक र कृत्रिम भएको उनले बताए । ‘त्यही कारणले आफ्नै बोझले कुनै पनि बेला दबिएर यो सरकार ढल्छ भनेको हो मैले, सैद्धान्तिक कुरा गरेको हो मैले’, अध्यक्ष प्रचण्डले थपे, ‘हामीलाई फाइदाको कुरा भन्नुहुन्छ भने, उनीहरू ८४ सम्म बसेपनि हामीलाई केही ‘टेन्सन’ पनि छैन । हामी जनताको बीचमा गएका छौं, जान्छौं । हामी सहिद बेपत्ता परिवारसँग फर्किएका छौं । त्यसले एउटा नयाँ उर्जा पैदा भएको छ । त्यसकारण अहिले हामी सरकार ढाल्ने र बनाउने खेलमा बिल्कुलै छैनौ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!