विराटनगर । कुष्ठ तथा हात्तीपाइले रोग भएका बिरामीहरू स्वास्थ्य बीमाको पहुँचभन्दा बाहिर रहेको पाइएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा भएको कुष्ठ तथा हात्तीपाइले प्रभावितहरूको लागि स्वास्थ्य बीमामा सहज पहुँच सम्बन्धी नीति संवाद कार्यक्रममा सहभागीहरूबाट यस्तो तथ्य बाहिरिएको हो ।
सरकारले निःशुल्क बीमाको व्यवस्था गरेपनि उनीहरू विभिन्न कारणले पहुँचभन्दा बाहिर रहेका छन् । कार्यक्रममा सहभागि कुष्ठ तथा हात्तीपाइले प्रभावितले औषधोपचारमा समस्या भएको गुनासो सुनाएका थिए । जनस्वास्थ्यकर्मी कैलाश खाकी श्रेष्ठले सहजिकरण गरेको प्यानल छलफलमा प्रभावितहरूले आफ्ना समस्या सुनाएका हुन् ।
उनीहरूले काम गर्न नसक्ने, हिँडडुल गर्न समस्या हुने लगायतका पीडा भोगिरहेको अवस्थामा उपचारमा समेत समस्या भएको उल्लेख गरे । उनीहरूले सरोकारवाला निकायलाई सहज तरिकाले बीमाको पहुँचमा आफूहरूलाई पुर्याउन आग्रह गरेका थिए ।
स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार चार हजार १३ जनाले कोशी प्रदेशमा कुष्ठरोगको औषधि खाइरहेका छन् । उनीहरूमध्ये दुई सय २८ जना मात्रै स्वास्थ्य बीमाको पहुँचमा छन् । मोरङमा एक सय, सुनसरीमा ३०, झापामा एक सय एक र अन्य जिल्लाका २७ जनाले मात्रै स्वास्थ्य बीमाको पहुँचमा रहेका निर्देशनालयका अधिकृत तुलसीप्रसाद गुरागाँईले बताए ।
नेदरल्यान्ड लेप्रोसी रिलिफ (एनएलआर) का अनुसार कोशी प्रदेशमा कुष्ठरोगीको सङ्ख्या १५ हजार पाँच सय छ । उनले कुष्ठ रोगका कारण कोशीमा ६ हजार बढी अपाङ्ग भएका बताए । उनले भने, ‘लामो समयदेखि यही क्षेत्रमा काम गरिरहेको छु । ८० प्रतिशत बढी कुष्ठ रोगी म आफैँ चिन्छु । सरकारी तथ्याङ्क चाँही कम आएको छ ।’
स्वास्थ्य बीमा बोर्ड कोशी प्रदेशका प्रमुख अर्जुन पण्डितका अनुसार कोशीमा २५ लाख ६१ हजार बीमाको पहुँचमा छन् । उनले भने, ‘कोशीमा एक सय १२ सेवा प्रदायक संस्थाहरूले बीमा सेवा उपलब्ध गराउँदै आएका छन् । ५२ प्रतिशत मानिस बीमाको पहुँचमा आएका छन् ।’
उनका अनुसार दुई सय ६८ हात्तीपाइले सङ्क्रमित र एक हजार एक सय ७२ कुष्ठ रोगी प्रभावित परिवार बीमामा आवद्ध भएका छन् । विविध कारणले प्रभावित सबै स्वास्थ्य बीमाको पहुँचमा आउन नसकेको उनको भनाइ छ ।
राष्ट्रिय अपाङ्ग महासङ्घ कोशी प्रदेश अध्यक्ष नवीन चन्द्र ढुङ्गेलले बीमाको पहुँचमा भएका व्यक्तिले पनि सहज रूपमा सेवा नपाएको गुनासो गरे । उनले भने, ‘बीमा सम्बन्धी धेरै गुनासा आउने गरेका छन् । सेवा लिन धेरै कष्ट गर्नुपर्ने कुरा आउँछन् । यसको समाधान खोज्न पनि आवश्यक छ ।’
उनले अस्पतालहरूमा अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि छुट्टै लाइनको व्यवस्था गर्न आग्रह गरेका छन् । जसबाट उनीहरूले सहज ढङ्गले सेवा लिन सक्ने उनको विश्वास छ । उनले अपाङ्गता भएका कति व्यक्ति बीमाको पहुँचमा छन् भन्ने यकिन तथ्याङ्क समेत नभएको बताए ।
उनले यकिन तथ्याङ्क उपलब्ध गराउन बीमा बोर्डलाई आग्रह गरे । उनले पूर्ण अपाङ्गता भएका व्यक्तिले निःशुल्क औषधी पाउनुपर्ने भए पनि नपाएको गुनासो आउने गरेको सुनाए ।
कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. राधिका थपलियाले लक्षित वर्ग अझैपनि पछाडि परिरहेको बताइन् । उनले सबैसामु प्रयाप्त सूचना पुर्याउन नसक्दा यस्तो अवस्था आएको उल्लेख गरिन् । उनले राज्यले छुट्याएको रकमको सदुपयोग हुनुपर्ने बताइन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले प्रभावितहरू सबैलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउन आवश्यक रहेको बताए । उनले यसको लागि तीनै तहको सरकारले भूमिका खेल्नुपर्ने उल्लेख गरे । यसमा सरोकारवाला निकायको भूमिका पनि महत्वपूर्ण हुने उनको भनाइ थियो ।