मोहन ढकाल/संगालोखबर


विराटनगर । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा केबलकार निर्माणको विषयमा उत्पन्न विवादका कारण सो क्षेत्र अशान्त बन्दै गएको छ । पहिचान पक्षधरले केबलकार निर्माण गर्न नदिने अडान कस्दा बनाउन दिने र नदिने पक्षबीचको विवाद झडपमा मात्र सीमित नभएर गोली चल्ने सम्मको अवस्थामा पुगेको छ ।

शनिबार पहिचान पक्षधरले ढुङ्गामुढा गरेपछि प्रहरीले गोली चलायो । सुरक्षाकर्मी र आन्दोलनरत पक्षका केही घाइते समेत भए । ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले पाथीभरामा केबलकार बनाउने विषयमा ताप्लेजुङवासी आन्दोलित नभएको बताए । प्रदेशका पहिचानवादीहरू मुक्कुमलुङ भनेर खनिएको उनको भनाइ छ । संगालोखबरका सह-सम्पादक मोहन ढकालले केबलकार निर्माणको विषयमा उत्पन्न परिस्थितिबारे नगर प्रमुख मादेनसँग गरेको कुराकानीको सम्पादित अंश- 

Advertisement

१. पाथिभरामा केबलकार बनाउने विषयमा भएको खास विवाद के हो ?
पाथिभराको उत्पत्ति कसरी भयो ?, किम्वदन्ती के हो ? भन्ने कुरा नबुझी अहिले आएर पहिचानवादीहरू यो हाम्रो लिम्बुहरूको मुन्धुम थलो भनेर दाबी गरे । १८९२ सालमा जब त्यहाँ देवी रहेछ भनेर थाहा भइसकेपछि मान्छेहरू पूजा गरेको इतिहास छ । अब त्यो भन्दा अगाडि लिम्बुहरूले त्यस डाँडामा कुनैपनि पुजा गरेको इतिहास छैन ।

१९९१ सालमा मेरो बाजे हर्कजङ्ग मादेनसहितले तल ओडारबाट विधिपूर्वक एउटा शिला लगेर पूजा गर्न सहज होस् भनेर माथि सजिलो ठाउँमा सारेको हो । ९१/९२ वर्ष भइसक्यो । त्यतिखेर लिम्बुहरूकै मुन्धुम स्थल भएको भए, मेरो बाजे पनि लिम्बु हो, किन मुक्कुमलुङ भनेनन्, किन पाथिभरा राखियो ? त्यतिखेर सबै लिम्बुहरू बसेर बाउन, क्षेत्री, गुरुङहरू बसेर पाथीभरा देवीको नामाकरण गरियो । पाथीमा धान भरेको जस्तो प्रकृतिको डाँडा भएकाले १९९१ सालमा देवीको नाम पाथिभरा राखौँ भनेर राखिएको हो ।

२०५३ सालतिर पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा संरक्षण सम्बद्र्धन समितिले बाटो बनाए । आवतजावतमा सहज बनाउँदै गए । त्यतिखेर हाम्रो मुन्धुम स्थल भन्ने लिम्बुहरू कहाँ थियो त ? त्यतिखेरै मुक्कुमलुङ भनेर नाम राख्नु पर्दैन थियो ? अनि अहिले २०६२/६३ को जनआन्दोलन पछि हाम्रो मुक्कुमलुङ भन्दा हुन्छ ? त्यतिखेर २०५३ सालतिर त पाथीभरा संरक्षण सम्बद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा महोत्सव मनायो त । त्यतिखेर किन नबोल्या त त्यसो भए ।

सबै संरचना बनिसकेपछि, सबैको आस्था भइसकेपछि हाम्रो भनेर हुन्छ ? त्यतिखेर त्यसो भन्ने लिम्बुहरू कहाँ गएका थिए ? अहिले आएर २०७४ सालमा हाम्रो मुक्कुमलुङ भनेर हुन्छ ? त्यही विषयलाई लिएर केबलकार निर्माण कम्पनीलाई हामी बनाउन दिँदैनौ भनेर त्यतापट्टी खनिएका हुन् ।

२. सुरुवाती चरणमा पहिचान पक्षधरले केही भनेनन् ?
केबलकार बनाउन दिनुहुँदैन भनेर शुरुवातमा भनेनन् । सबै प्रक्रिया पुर्याउँदासम्म उनीहरू चुपचाप बसे । त्यतिखेर हामी बजारवासीले मात्र कुरा उठाएका थियौ । माथि डाँडामै चाँही केबलकार लानु हुँदैन भनेर कम्पनीका साथीहरूलाई भन्दै थियौँ । २०७४ सालमा स्थानीय निर्वाचन भएपछि स्थानीय तहले अनुमती पनि दियो । त्यतिन्जेल उनीहरू कहाँ गएका थिए ? पाथीभरा देवीको स्थापना देखि नै उनीहरूले संरक्षण गरेर सबै संरचना बनाएको भए हाम्रो मुन्धुम स्थल भन्न सुहाउँथ्यो । अहिले आएर हस्तक्षेप गर्न खोज्नु गलत हो ।

३. पहिचान पक्षधरले त हाम्रो मुन्धुम स्थल हो भन्छन् त ?
यदी त्यहाँ लिम्बुहरूले नै पूजा गरेको थियो या गरिरहेका थिए भने भन्नु केही थिएन । म पनि लिम्बु हुँ । अहिले आएर केबलकार बनाउन दिँदैनौ भनेर आन्दोलन गर्नु उचित हैन । राज्यले एउटा कम्पनीलाई अनुमति दिइसकेको अवस्था र यति महिनामा काम सक्छु भनेर सम्झौता गरिसकेको अवस्था छ । कम्पनीले तीनै तहको अनुमती लिएर काम सुरु गरिसकेको अवस्थामा आन्दोलन उचित हैन । सहि माग हुँदा सबैले साथ दिन्छन् ।

४. अनि तपाईँमाथि उनीहरूको आक्रोश किन ?
लिम्बुको नाताले यस विषयमा बोलेन भनेर मलाई बंश गद्दार, दुनियाँ भरको मनपरी भनेर आरोप लगाउन थाले । म त जनप्रतिनिधि हो । जनताले मलाई जिताएर पठाएका छन्, विकास गर्छ भनेर । विकासको पक्षमा उभिँदा आरोप खेप्न पर्यो ।

५. शनिबार झडपको अवस्था कसरी सिर्जना भएछ ?
उनीहरू शान्तीपूर्ण र्याली गर्छौँ भनेर सीडीओसँग अनुमति लिएर गएका रहेछन् । एक डेढ सय जम्मा भइसकेपछि चाँही सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गर्दाखेरी झडपको अवस्था सिर्जना भएछ । शान्तीपूर्ण आन्दोलन गरेका थिएभने प्रहरीले गोली चलाउँथ्यो त ? काम भएको चित्त बुझेन भने न्यायालय जाँदा हुन्छ ।

६. कुनै राजनीतिक दलको आडमा पहिचान पक्षधरले आन्दोलन गरेका त हैनन् ?
ताप्लेजङमा सबै राजनीतिक दलले केबलकार बन्नुपर्छ भनेकै छन । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादीलगायतका सबै पाटीले केबलकार बन्नुपर्छ भनेर विज्ञप्ति निकालेका छन् । यहाँ त हामी पहिचानबादी हौँ, हामीले हाम्रो थातथलो संरक्षण गर्नुपर्छ, राज्यलाई हस्तक्षेप गर्न दिनुहुँदैन, कुनै पनि कम्पनीलाई विभिन्न संरचना बनाउन दिनुहुँदैन भनेर उनीहरू लागेका हुन् ।

७. ताप्लेजुङका स्थानीय आन्दोलनमा छैनन् भन्नुभयो । कहाँ का हुन त आन्दोलनकारी ?
यहाँका स्थानीय त दुई/चार जना होलान् । उनीहरू पनि कमिसनमा नमिलेर बिच्किएका हुन् । पाँच करोडसम्म माग्दा नदिएपछि बनाउन नदिने भनेर लागेका त हुन् । तर अहिले कोशी प्रदेशका पहिचानवादीहरू सबै यता मुक्कुमलुङ भनेर खनिए । ताप्लेजुङको स्थानीय जनताले भनेको भा त ठीकै छ भन्नु । अब कहाँ–कहाँको मान्छेहरू आएर ताप्लेजुङको विकासलाई अवरोध गर्न खोज्छन् भने हामी मान्दैनौ ।

केबलकार बन्नु ताप्लेजुङको लागि मात्र नभएर कोशी प्रदेशका अन्य जिल्लालाई पनि फाइदा हो । केबलकार नबन्दा त भत्तजनहरू उल्लेख्य मात्रामा आइरहेका छन् । उनीहरूले यहाँका जति पनि होटल व्यवसाय चलायमान छन्, केबलकार बनेपछि अन्य जिल्लाका पनि चलायमान हुनेछन् । स्थानीय उत्पादन खपत बढ्छ । प्रदेशकै आर्थिक उन्नति हुने हो । यहाँ नेपालका मात्र नभएर अन्य मुलुकका पर्यटक पनि आउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!