
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपाने जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले न्यौपानेलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।
न्यौपानेले सवारी दुर्घटना न्यूनीकरणको लागि चालक र परिचालकहरूको विस्तृत स्वास्थ्य परीक्षण, लागूपदार्थ सेवन र मादक पदार्थ सेवन चेकजाँच र नियम उल्लंघन गर्ने चालक/परिचालकहरूलाई कारवाहीको दायरामा ल्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै उनले सिटी सफारीलाई सुरक्षित, अनुशासित र मर्यादित बनाउन ‘सुरक्षित चालक’ अभियानको सुरुवात गरेको र कार्यालयमा आउने सेवाग्राहीको लागि कार्यालय परिसरमा प्रतीक्षालय निर्माण गर्न उल्लेखनीय भूमिका खेलेका छन् ।
उनले ट्राफिक र पार्किङ व्यवस्थापनको लागि सरोकारवाला निकायहरूसँग समन्वय गरी ह्विल लक, चेन लक, नो पार्किङ बोर्ड, ट्राफिक कोन, व्यारिकेडर, रिफ्लेक्टिभ ज्याकेटहरू प्रयोगमा ल्याई ट्राफिक प्रहरी कार्यमा प्रभावकारिता ल्याएको कार्यालयले जनाएको छ ।

संगालोखबर 



















