
खाँदबारी । सङ्खुवासभास्थित जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका १५ जनालाई जन्मकैदको फैसला भएको छ । न्यायाधीश राजकुमार कोइरालाको इजलासले मुलुकी अपराध संहिता २०७४ को दफा १७१ (१) बमोजिम कसुरमा जन्मकैद फैसला सुनाएको हो ।
त्यसैगरी सोही संहिताको १८६ बमोजिम प्रतिवादीबाट जनही ५० हजार मृतक तोलाङ्गी र बलामीका नजिकका हकदारलाई क्षतिपूर्ति भराउने ठहर गरेको अदालतले जनाएको छ ।
२०८० साउन २४ गते सुरक्षाकर्मी र केही कैदीबन्दीले कुटपिट गर्दा जिल्लाको मादी नगरपालिका-५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।
कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा दुई कैदीको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
दुई कैदी हत्या प्रकरणका सात प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला भएको जिल्ला अदालत संखुवासभाले जनाएको छ । कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको थियो ।
कैदीको कुटपिटपछि हत्या घटनाका आरोपित सात जना प्रहरीलाई धनकुटा र आठ जना कैदीलाई तेह्रथुम कारागार चलान गरेको थियो । कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राईलाई जन्मकैद फैसला भएको छ ।
त्यसैगरी चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदीहरू मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेलाई समेत जन्मकैद सजायको फैसला भएको अदालतले जनाएको छ ।
कैदीको कुटपिटपछि हत्या अभियोगमा जिल्ला कारागारका इन्चार्ज असईसहित सात जना प्रहरी र आठ जना कैदीबन्दीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थियो । तत्कालीन जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश भएको थियो ।

संगालोखबर 



















