
विराटनगर । यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उनले कारको झ्यालबाट जीउ बाहिर निकालेर बनाएको भिडियो भाइरल भएको हो ।
गत फागुन २१ गते उनले अपलोड गरेको भिडिओ अहिले भर्खर चर्चामा आएको हो । धेरैले नेपाल प्रहरीलाई मेन्सन गर्दै उनीमाथि ट्राफिक नियम उल्लंघनको कसुरमा कारबाही हुनुपर्ने माग अघि सारेका छन् ।
चौतर्फी आलोचनापछि उनले फेसबुकमार्फत स्पष्टीकरण दिँदै निजी जीवनको सामान्य क्षण मात्रै भएको बताएकी छन् । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरूमा आफ्नो एउटा भिडियो व्यापक रूपमा साझा भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् ।
उक्त भिडियोमा आफू सवारी साधनको चालक नभई यात्रुको रूपमा यात्रा गरिरहेको र केही क्षणका लागि कारको झ्यालबाट बाहिर हेर्दै रमाइलो गरिरहेको दृश्य रहेको सांसद भट्टराईले उल्लेख गरेकी छन् ।
सांसद भट्टराईका अनुसार उक्त भिडियो हालको नभई व्यक्तिगत रूपमा यात्रा गरिरहेका बेला खिचिएको पुरानो भिडियो हो । ‘उक्त भिडियो कुनै सरकारी कार्यक्रम, सार्वजनिक दायित्व वा औपचारिक भूमिकासँग सम्बन्धित थिएन । यो मेरो निजी जीवनको एक सामान्य र सहज क्षण मात्र थियो’, उनले लेखेकी छिन, ‘भिडियोमा देखिएको गतिविधिलाई कुनै राजनीतिक, प्रशासनिक वा सार्वजनिक सन्देशसँग जोडेर व्याख्या गर्नु उचित हुँदैन ।’
सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूप्रति नागरिकहरूको चासो स्वाभाविक हुने र त्यसको आफूले सम्मान गर्ने बताउँदै उनले सार्वजनिक पदमा रहँदैमा व्यक्तिले आफ्नो निजी जीवनका सामान्य क्षणहरू जिउने अधिकार नगुमाउने उल्लेख गरेकी छन् ।
आफू सार्वजनिक पदमा रहे पनि सबैभन्दा पहिले एक नागरिक भएको र अन्य नागरिकसरह आफ्नो पनि निजी जीवन तथा व्यक्तिगत स्वतन्त्रताको अधिकार रहेको उनको तर्क छ ।
जीवनको कुनै न कुनै चरणमा अधिकांश व्यक्तिहरूले उत्साह, उमेर वा परिस्थितिका कारण ट्राफिक नियम तथा सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुने व्यवहार गरेको हुन सक्ने भन्दै उनले भिडियोमा देखिएको व्यवहारलाई पनि त्यसै सन्दर्भमा बुझिदिन आग्रह गरेकी छन् ।
यद्यपि, सडक सुरक्षा र ट्राफिक नियमहरूको पालना सबैको साझा जिम्मेवारी भएको कुरामा आफू पूर्ण रूपमा विश्वास गर्ने उनले उल्लेख गरेकी छन् । विगतका यस्ता अनुभवहरूबाट सिक्दै भविष्यमा आफू स्वयंले पनि यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाउँदै उनले सम्पूर्ण नागरिकहरूलाई समेत ट्राफिक नियमहरूको पूर्ण पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गरेकी छन् ।

संगालोखबर 



















