
धनकुटा । धनकुटाको हिले-चोक्रोक-भीरगाउँ-मधुगंगा सडक धमाधम कालोपत्रे भइरहेको छ । धनकुटा नगरपालिकाको रिङरोड अवधारणा अन्तर्गत रहेको उक्त सडकखण्ड ट्रयाक खोलेको २६ वर्षपछि कालोपत्रे सुरु भएको हो । विश्व बैंकको ३६ करोड रुपैयाँ अनुदान सहयोगमा सडकको कालोपत्रेको काम धमाधम भइरहेको छ ।
हिले-चोक्रोक र भीरगाउँ हुँदै धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म पुग्ने करिब ७.२ किलोमिटर सडक कालोपत्रे भइरहेको धनकुटा नगरपालिकाका प्रशासन, योजना तथा अनुगमन अधिकृत सीताराम गौतमले बताए ।
उनका अनुसार सुरु चरणमा ३२ करोड रुपैयाँमा सम्झौता भएको परियोजनाको लागत थप संरचना निर्माण र प्राविधिक सुधारका कारण बढेर ३६ करोड पुगेको हो ।
कुल ७.२ किलोमिटर सडकमध्ये ३.३ किलोमिटर खण्डमा ढलान सम्पन्न भएको छ । करिब ४ किलोमिटर सडकमा कालोपत्रे भइरहेको छ । निर्माण कम्पनीसँग आगामी असार १६ गतेभित्र काम सम्पन्न गर्ने सम्झौता भएको थियो । मौसमले साथ दिए असारको पहिलो साताभित्रै कालोपत्रेको काम सक्ने लक्ष्य राखिएको छ ।

कालोपत्रे भएपछि सडक सौन्दर्यकरण, नाली व्यवस्थापन र संकेत चिह्न राख्ने काम अघि बढाइने छ । सडक निर्माणपछि करिब ५ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुनेछन् । सडक स्तरोन्नति नहुँदा करिब २ घण्टा हिँडेर बजारसम्म पुग्नुपर्ने स्थानीयको बाध्यता थियो । अब भने स्थानीय स्तरमा उत्पादित कृषिजन्य बस्तु बजारसम्म लैजान सजिलो हुने भएपछि स्थानीय हर्षित छन् ।
स्थानीयको श्रमदानबाट वि.सं. २०५७ सालमा उक्त सडकको ट्रयाक खोल्ने काम सुरु भएको थियो । सो समय डोजर र बजेटको अभावकाबीचमा श्रमदानबाट सडक विस्तार गरेको स्थानीय फुर्वा तामाङले बताए ।
सडक कालोपत्रे हुन थालेपछी गाउँको विकासले नयाँ गति लिएको र गाउँको मोह समेत बढेको उनले बताए । सडक कालोपत्रे भएसँगै बिरामीलाई अस्पताल पुर्याउने र विद्यार्थीलाई विद्यालय जान पनि सहज हुने उनले बताए ।
चोक्रोक, भीरगाउँ, किन्ताङ र मधुगंगा क्षेत्र गाँजर, मुला, आलु, हरियो तरकारी तथा दूधजन्य बस्तु उत्पादन क्षेत्र हो । सडक स्तरोन्नतिसँगै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सहज हुने धनकुटा नगरपालिका-२ का वडाध्यक्ष चन्द्रलाल तामाङले बताए ।

कच्ची सडकका कारण वर्षायाममा तरकारी र दूध बजारसम्म पुर्याउन समस्या हुने गरेको थियो । यस्तै धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै गएको मधुगंगा धामसम्मको पहुँच पनि सहज हुने छ ।
जसले आन्तरिक पर्यटकको आगमन बढ्ने र स्थानीय होटल व्यवसायलाई समेत प्रत्यक्ष लाभ पुग्ने छ । दोस्रो खण्ड स्तरोन्नति तथा कालोपत्रेका लागि विश्व बैंकसमक्ष प्रस्ताव पेश गरिएको भए पनि हालसम्म स्वीकृति प्राप्त नभएको नगरपालिकाले जनाएको छ ।
यसबीच नगरपालिकाले विभिन्न स्थानमा पर्खाल निर्माण, कल्भर्ट जडान, नाली व्यवस्थापन तथा माटो कटिङको काम गर्दै आएको छ । सडक पूर्णरूपमा सञ्चालनमा आएपछि भीरगाउँ हुँदै छथर जोरपाटी गाउँपालिकाको तेलिया, ताङ्खुवा लगायतका बस्तीमा समेत यातायात पहुँच विस्तार हुनेछ ।
जसले धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रलाई सदरमुकामसँग जोड्दै कृषि, पर्यटन, व्यापार तथा सेवा प्रवाहलाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 



















