
धनकुटा । भारतीय नम्बर प्लेटको गाडीमा अवैध रूपमा नेपाली नम्बर प्लेट राखेर कुदाउने एक जना भारतीय चालकलाई धनकुटामा प्रहरीले पक्राउ गरेको छ ।
साँगुरीगढी गाउँपालिका-६ भेडेटारस्थित कोशी लोकमार्ग सडक खण्डबाट प्रहरीले गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब ९:२० बजे धरानतर्फ जाँदै गरेका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा गाडीसहित चालकलाई नियन्त्रणामा लिएकाे हाे ।
भारतको बिहार राज्य जोगवनी थाना अमोना पञ्चायत-२१ मिरगञ्ज बस्ने २२ वर्षीय नन्दु कुमार चौधरीले चलाएको सेतो रङको कारलाई रोकेर चेकजाँच गर्दा सो गाडीको वास्तविक नम्बर प्लेट बीआर एजी ६७०२ रहेको पाइएको थियो । तर, चालक चौधरीले उक्त वास्तविक भारतीय नम्बर प्लेटको माथिबाट प्रदेश १-०१-००१ च ९२९४ नम्बरको नेपाली प्लेट राखी कार चलाएका थिए ।
गाडी र चालकलाई थप कानुनी कारबाहीका लागि आज यातायात व्यवस्था ऐन २०४९ को दफा १६० बमोजिम यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















